पिपल्सको व्यवस्थापन शिक्षामा नयाँ प्रविधि, नतिजाबाट अनुसन्धानतर्फ

हिमाल प्रेस २ भदौ २०८३ १७:५२ | Tuesday, August 18, 2026
6
SHARES
पिपल्सको व्यवस्थापन शिक्षामा नयाँ प्रविधि, नतिजाबाट अनुसन्धानतर्फ

काठमाडौँ- ४५ वर्षदेखि व्यवस्थापन शिक्षामा विशिष्ट पहिचान बनाउँदै आएको पिपल्स क्याम्पसले व्यवस्थापन शिक्षालाई अनुसन्धान, प्रविधि र आर्थिक विकाससँग जोड्दै अघि बढ्ने जनाएको छ।

क्याम्पसले स्मार्ट अध्ययन–अध्यापन र अन्तरक्रियात्मक पठन विधिसँगै अनुसन्धानलाई नियमित शैक्षिक गतिविधिका रूपमा अघि बढाउने जनाएको हो।

राजधानीमा आयोजित विद्यार्थी स्वागत तथा बिदाइ कार्यक्रममा क्याम्पस प्रमुख रोजेश पण्डितले मुनाफा वितरण नगर्ने सामुदायिक संस्थाका रूपमा न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको क्याम्पसले आगामी दिनमा पनि गुणस्तर कायम राख्न नवीनतम प्रविधि र अनुसन्धानमा जोड दिने बताए।

उनका अनुसार विगतमा विद्यार्थीलाई उत्कृष्ट नतिजा हासिल गराउनमा मात्रै ध्यान केन्द्रित गर्ने वातावरण रहे पनि अब अध्यापनमा संलग्न जनशक्तिलाई अनुसन्धान तथा वृत्ति विकासमा समेत सहभागी गराउनु आवश्यक छ।

क्याम्पसमा कक्षा ११ र १२ बाहेक चारवर्षे बीबीएस, बीबीए र बीबीएम तथा दुईवर्षे एमबीएस कार्यक्रम सञ्चालनमा छन्। कम्प्युटर साइन्सअन्तर्गत बीआईटी कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी गरी त्रिभुवन विश्वविद्यालयमा आवेदनसमेत दिइएको क्याम्पसले जनाएको छ।

यस वर्ष भर्ना भएका बीबीए, बीबीएम र बीबीएसका विद्यार्थीलाई स्वागत तथा २०७८ ब्याचका विद्यार्थीलाई बिदाइ गर्न आयोजित कार्यक्रममा क्याम्पसले काठमाडौं महानगरपालिका र त्रिभुवन विश्वविद्यालयबाट उपलब्ध हुने नियमित छात्रवृत्तिका अतिरिक्त थप छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिएको छ।

‘पिपल्स क्याम्पसका विद्यार्थी नियमित डिन लिस्टमा पर्न सफल भएको तथ्यले हाम्रो शैक्षिक गुणस्तर पुष्टि गर्छ,’ क्याम्पस प्रमुख पण्डितले भने, ‘यसलाई कायम राख्न हामी प्रविधिलाई साथमा लिएर अघि बढ्छौँ।’

विद्यार्थी तथा शिक्षकको सर्वांगीण विकासका लागि क्याम्पसले नियमित रूपमा व्यवस्थापन सम्मेलन, विज्ञसँग संवाद, डिजिटल साक्षरता र पुस्तक अन्तरक्रियाजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्राज्ञिक अनुसन्धानलाई निरन्तरता दिने उद्देश्यले राष्ट्रिय व्यवस्थापन सम्मेलनलाई पनि यस वर्ष निरन्तरता दिइने क्याम्पसले जनाएको छ।

क्याम्पसका अनुसार हालै प्रकाशित परीक्षाफलमा बीबीएमका विद्यार्थी सुरजकुमार गुप्ताले ३.९६ जीपीए प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। यसअघि बीबीएमतर्फ रोजिन महर्जन तथा बीबीएतर्फ आयुशा अधिकारी र सुदीप पाण्डेले पनि उत्कृष्ट नतिजा हासिल गरेका थिए।

२०७७ ब्याचका मेरिना कायस्थ र नम्रता कार्कीले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायमा उत्कृष्ट स्थान हासिल गरेका थिए।

प्रकाशित: २ भदौ २०८३ १७:५२ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast