काठमाडौँ- रसुवामा आएको बाढीका कारण प्रभावित भएकाहरूको उद्धारमा नेपाली सेनाले सक्रियता बढाएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार १२ः२० बजेसम्म सेनाका हेलिकप्टरमार्फत ४४९ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये १७ जना विदेशी नागरिक रहेका छन्। उद्धार गरिएका विदेशीमध्ये १३ जना भारतीय र ४ जना जर्मन नागरिक रहेको नेपाली सेनाले जनाएको छ।
सेनाका हेलिकप्टरले बाढी प्रभावित टिमुरे, स्याफ्रुवेँशी, मैलुङलगायतका क्षेत्रबाट प्रभावित नागरिकको उद्धार गरेको हो।
यसैबीच, बाढीबाट प्रभावित जिल्लाहरूमा नेपाली सेनाका करिब ४ हजार ५ सयभन्दा बढी फौज परिचालन गरिएको छ।
सेनाले सम्बन्धित निकायसँग समन्वय गरी घाइते तथा प्रभावितको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण गरिरहेको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना निरन्तर परिचालनमा रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।


