आव २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा छ अर्ब ६७ लाख रुपैयाँ थियो। एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफामा दुई अर्ब ८५ करोड ७९ लाखले वृद्धि भएको हो। कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ।
गत आवको चौथो त्रैमासिकसम्म करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख पुगेकामा अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा नौ अर्ब ८५ करोड दुई लाख रुपैयाँ थियो। यस आधारमा करअघिको मुनाफा ३४ दशमलव ६६ प्रतिशतले बढेको हो।
त्यस्तै, कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी २० अर्ब ४८ करोड एक लाख पुगेको छ भने अघिल्लो आवको सोही अवधिमा १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ आम्दानी भएको थियो।
तुलनात्मक रूपमा यो १० दशमलव ७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमको कुल सञ्चालन आय समीक्षा अवधिमा ३४ अर्ब ९५ करोड चार लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको चौथो त्रैमासिकसम्म यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा गत आवमा सञ्चालन आय एक अर्ब पाँच करोड ५९ लाख अर्थात् तीन दशमलव १२ प्रतिशतले बढेको हो।
कम्पनीको कुल आयसमेत बढेको छ। समीक्षा अवधिमा कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो। यसअनुसार कुल आय एक अर्ब एक करोड १५ लाख रुपैयाँ अर्थात् दुई दशमलव ६५ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण गरिएको) ४९ दशमलव २५ रहेको छ।
ब्याज आम्दानी घटे पनि मुनाफामा वृद्धि
कम्पनीका अनुसार समीक्षा अवधिमा ब्याजदर क्रमिक रूपमा घट्दा ब्याज आम्दानीमा भने कमी आएको छ। अघिल्लो आवको चौथो त्रैमासिकसम्मको तुलनामा गत आवको सोही अवधिमा ब्याज आम्दानी करिब ८६ करोड १९ लाख अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको छ।
मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा भएको वृद्धिका कारण समग्र सञ्चालन आय तथा मुनाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ। विशेषगरी जिएसएम सेवातर्फको राजस्व बढेको छ।
कम्पनीका अनुसार अघिल्लो आवको चौथो त्रैमासिकसम्मको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा जिएसएम सेवातर्फको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् दुई दशमलव २८ प्रतिशतले बढेको छ।
नेपाल टेलिकमले देशको सञ्चार सेवा प्रदायकको भूमिक निर्वाह गर्दै भौगोलिक तथा व्यावसायिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिँदै आएको जनाएको छ।
कम्पनीका अनुसार कम प्रतिफल प्राप्त हुने तथा बढी लागत लाग्ने विकट र दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्नुपर्ने भएकाले सेवा सञ्चालनमा अतिरिक्त लागत व्यहोर्नुपरेको छ।


