सांसद कर्णको प्रश्न- संसद्‌मा देश बनाउने बहस गर्ने कि प्रधानमन्त्रीको चस्मा र पोसाक हेर्ने?

हिमाल प्रेस २६ साउन २०८३ १६:०८ | Tuesday, August 11, 2026
8
SHARES
सांसद कर्णको प्रश्न- संसद्‌मा देश बनाउने बहस गर्ने कि प्रधानमन्त्रीको चस्मा र पोसाक हेर्ने?

काठमाडौँ- प्रतिनिधिसभा सदस्य खगेन्द्र कर्णले संसद्‌मा हुने बहस व्यक्ति केन्द्रित नभई विकास, रोजगारी, सुशासन र भ्रष्टाचार न्यूनीकरणजस्ता जनसरोकारका विषयमा केन्द्रित हुनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै कर्णले सरकारले १६५ वटै निर्वाचन क्षेत्रमा समान बजेट वितरण गर्ने नीति लिएर देश विकासप्रतिको आफ्नो नियत स्पष्ट पारेको बताए।

सांसद कर्णले विगतमा बजेट प्रस्तुत भएपछि सत्तारूढ दलका शीर्ष नेताको निर्वाचन क्षेत्रमा मात्रै विकास बजेट गएको भन्दै संसद्‌मा प्रश्न उठ्ने गरेको स्मरण गरे। उनका अनुसार त्यतिबेला आफ्नै निर्वाचन क्षेत्रमा बजेट नपरेको भन्दै सांसदहरूले सरकारको आलोचना गर्ने गरेका थिए।

‘अघिल्ला सरकारका पालामा बजेट आउँदा सत्ताधारी राजनीतिक दलका शीर्ष नेताको क्षेत्रमा मात्रै विकास बजेट गयो, मेरो क्षेत्रमा खोइ भनेर संसद्‌मा बहस हुने गर्थ्यो,’ कर्णले भने,‘उदेकलाग्दो त के थियो भने मन्त्रीलाई सत्तापक्षकै सांसदले बजेटमा बेइमानी गरेको आरोप लगाउँथे।’

अहिले भने निर्वाचन क्षेत्रमा बजेट नपरेको विषयमा सरकारको आलोचना सुनिन छाडेको उनले बताए। सरकारको कामकारबाहीमाथि आलोचना गर्ने क्रममा समेत संसद्को बहस मूल मुद्दाबाट विषयान्तर भएको उनको भनाइ थियो।

कर्णले प्रधानमन्त्री वालेन्द्र शाहले लगाउने पोसाक र चस्माजस्ता व्यक्तिगत विषयलाई लिएर हुने टिप्पणीप्रति असन्तुष्टि जनाए। ‘आलोचना हुन्छ, प्रधानमन्त्रीले कालो चस्मा लगाउनुभयो, आलोचना हुन्छ, प्रधानमन्त्रीले कालो ड्रेस लगाउनुभयो,’ उनले भने।

उनले सांसदहरूलाई व्यक्तिगत विषयमा केन्द्रित नभई आफ्नो निर्वाचन क्षेत्रमा सरकारले अघि सारेका कार्यक्रम कार्यान्वयन गराउन तथा रोजगारी सिर्जनाका लागि आवश्यक नीतिमाथि बहस गर्न आग्रह गरे।

‘देश बनाउन सफा नियत भएका माननीयहरूले कालो चस्मा, कालो कोट होइन आफ्नो निर्वाचन क्षेत्रमा गएको कार्यक्रम लागू गर्न बहस गर्नुस्,’ कर्णले भने, ‘सरकारले रोजगारी सिर्जना गर्नका लागि गर्नुपर्ने कामका बारेमा बहस गर्नुस्।’

स्थानीय तहमा देखिएको बेथिति र भ्रष्टाचार न्यूनीकरणका लागि आवश्यक कानुन निर्माणका विषयमा पनि संसद्ले गम्भीर बहस गर्नुपर्ने उनले बताए।

कर्णले संसद्को बहस एजेन्डा केन्द्रित हुनुपर्नेमा व्यक्ति केन्द्रित हुँदै गएको भन्दै त्यसले मूल विषय ओझेलमा परेको टिप्पणी गरे। ‘बहस एजेन्डा केन्द्रित हुनुपर्नेमा व्यक्ति केन्द्रित भइरहेको छ,’ उनले भने।

सरकारले सुशासनमार्फत देशलाई दिगो विकासतर्फ उन्मुख गराएको दाबी गर्दै उनले संसद्‌मा हुने छलफललाई जनताको वास्तविक समस्यासँग जोड्नुपर्ने बताए।

‘सरकार सुशासनमार्फत दिगो विकासतर्फ देशलाई उन्मुख गराएको छ। बहस एजेन्डा केन्द्रित हुनुपर्नेमा व्यक्ति केन्द्रित भइरहेको छ,’ उनले भने।

कर्णले संसद्‌मा हुने राजनीतिक गतिविधि र बहसलाई जनताले नजिकबाट नियालिरहेको संकेत गर्दै हिन्दी उखान उद्धृत गरे, ‘ये पब्लिक है, सब जानती है।’

प्रकाशित: २६ साउन २०८३ १६:०८ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast