राजविराज- सप्तरी प्रहरीले दुई वर्षीया बालिकाको हत्या आरोपमा मृतककी कान्छी आमालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शम्भुनाथ नगरपालिका-२ कनकपट्टी टोलमा घर भई हाल शम्भुनाथ-३ ट्राफिक बजारमा बस्दै आएकी दुई वर्षीया बालिका रबिना खातुनको हत्या आरोपमा उनकी कान्छी आमा २५ वर्षीया मुस्कान भन्ने जाकिस्म खातुनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार भदौ ७ गते बिहान करिब १०:३५ बजे घर पछाडि रहेको झाडीमा बालिकाको शव फेला परेको थियो। घटनाबारे सूचना प्राप्त भएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएर आरोपितलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा आरोपितले आफूले नै बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ। घटनापछि मृतककी आमा रबिना खातुनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दर्ता गराएकी थिइन्।
सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी पक्राउ परेकी मुस्कानमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।


