काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह बालेनले शुक्रबार राति ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भनेर भावुक स्टाटस लेखेपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले जवाफ पर्काएका छन्।
झाले सामाजिक सञ्जालमार्फत नै आफ्ना वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाहलाई महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिएका हुन्।
शुक्रबार आफूले प्रतिनिधिसभा बैठकमा बोलेको कुरामा अडिग रहँदै सांसद झाले सुधार गर्नैपर्ने केही पक्ष रहेको जिकिर पनि गरेका छन्।
‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ’, उनले फेसबुकमा लेखेका छन्, ‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सकारको साथमा छु। यहाँ कोही एक्लो छैन।’


