काठमाडौँ- बाजागाजासहितको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमेका दर्शक र मौलिक सांस्कृतिक प्रस्तुतिको रौनकसँगै काठमाडौँको जमलमा तीन दिनदेखि जारी ‘लोकदोहोरी मेला २०८३’ भव्य रूपमा सम्पन्न भएको छ।
टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङको अवसरमा भदौ ५ गतेदेखि सुरु भएको मेलाको समापन चर्चित लोकगायक तथा फिल्म निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा भएको हो।
समापन समारोहको अन्तिम रात लोकदोहोरी संगीतकर्मी राजु परियार, शान्तारानी परियार, शिव हमाल, श्याम रानालगायत कलाकारले प्रस्तुति दिएका थिए। कलाकारका लोकप्रिय गीतमा दर्शकले साथ दिँदा जमलस्थित विश्वज्योति मलको चौथो तला रात अबेरसम्म सांगीतिक उत्सवमा गुञ्जिएको थियो।
मेलाको अन्तिम साँझ लोकदोहोरीसँगै नेपाली मौलिक संस्कृति झल्काउने विभिन्न प्रस्तुतिले पनि दर्शकको ध्यान खिच्यो। कौडा नृत्यलगायत मौलिक प्रस्तुतिले कार्यक्रममा उल्लास थपेको थियो।
तीन दिनअघि चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता दिनेश डीसीको प्रमुख उपस्थितिमा उद्घाटन भएको मेला सुरुवातदेखि नै कलाकार र दर्शकको बाक्लो सहभागिताका कारण चर्चामा रह्यो। उद्घाटन समारोहमा दुर्गेश थापा, बद्री पंगेनीलगायत कलाकार तथा अतिथिलाई बाजागाजासहित स्वागत गरिएको थियो।
उद्घाटनपछि ज्योति मगर, प्रीति आले, विश्व दोङ, बद्री पंगेनीलगायतका कलाकारले प्रस्तुतिमार्फत माहोल तताएका थिए। पहिलो दिन नै दर्शकको चाप यति बढेको थियो कि टप दरबार रोधीको हल खचाखच भरिएको थियो।
त्यसपछिका दिनमा पनि लोकदोहोरीका स्थापित कलाकारदेखि नयाँ पुस्तासम्मका कलाकारले निरन्तर प्रस्तुति दिए। तीन दिनसम्म चलेको मेलामा टप दरबार रोधीसँग आबद्ध करिब ६० जना कलाकारको समेत सहभागिता रहेको थियो।
लोकदोहोरीका लोकप्रिय कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र रोधी परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ। स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई अवसर दिने र कलाकार तथा दर्शकबीचको सम्बन्धलाई थप बलियो बनाउने लक्ष्य पनि मेलासँग जोडिएको थियो।

टप दरबार रोधीका सञ्चालक अशोक गिरीका लागि भने यो तीनदिने मेला आफ्नो करिब २५ वर्ष लामो दोहोरी तथा रोधी यात्राको एउटा महत्वपूर्ण सुरुवात बनेको छ। बाउन्सर हुँदै दोहोरी साँझको व्यवस्थापनमा प्रवेश गरेका गिरीले लामो समयदेखि कलाकारलाई मञ्च उपलब्ध गराउँदै आएका छन्।
करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको टप दरबार रोधीमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ भने क्लबका अनुसार १०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। नेपाली मौलिक परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति, आधुनिक प्रविधि र पारिवारिक वातावरणलाई क्लबको विशेषताका रूपमा अघि सारिएको छ।
गिरीले रोधीलाई केवल मनोरञ्जनको स्थल नभई नेपाली लोकसंगीत, कलाकार र दर्शकबीचको साझा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेका छन्। त्यसैअनुसार क्लबले स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई पनि निरन्तर मञ्च दिने योजना बनाएको छ।
तीन दिनसम्म साँझदेखि बिहानसम्म चलेको मेलाले टप दरबार रोधीको औपचारिक सुरुवातलाई सांगीतिक उत्सवसँग जोडेको छ। पहिलो दिनको भव्य उद्घाटनदेखि अन्तिम रातका मौलिक सांस्कृतिक प्रस्तुति र चर्चित कलाकारको प्रस्तुतिसम्म आइपुग्दा मेला नेपाली लोकसंगीत र संस्कृतिको उत्सवका रूपमा सम्पन्न भएको हो।
अब तीन दिनको उत्सव सकिए पनि टप दरबार रोधीको नयाँ यात्रा भने यहीँबाट सुरु भएको छ- कलाकारका लागि मञ्च, दर्शकका लागि सांगीतिक गन्तव्य र नेपाली लोकसंस्कृतिका लागि एउटा नयाँ थलो बनाउने लक्ष्यसहित।


