गोलबजार घटनाको छानबिन सुरू

हिमाल प्रेस १९ साउन २०८३ २०:२४ | Tuesday, August 4, 2026
12
SHARES
गोलबजार घटनाको छानबिन सुरू

काठमाडौँ- आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको घटना छानबिन गर्न गठित गृह मन्त्रालयको उच्चस्तरीय टोली मंगलबार घटनास्थलमा पुगेर विभिन्न पक्षसँग छलफल गरेको छ।

गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठित छानबिन टोलीले घटनास्थलको अवलोकन, आवश्यक तथ्य तथा प्रमाण संकलन र सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको समितिका सदस्य सचिव कुलशेखर अर्यालले जानकारी दिए।

उनका अनुसार टोलीले गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठक आयोजना गरी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरी घटनासँग सम्बन्धित विविध विषयमा जानकारी संकलन गरेको छ।

उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहको अध्यक्षतामा गोलबजारका व्यवसायीहरूसँग छलफल गरी आन्दोलनका क्रममा भएको क्षति, घटनाको पृष्ठभूमि तथा व्यवसायीका गुनासाबारे जानकारी लिइएको सदस्यसचिव अर्यालले बताए।

मुस्लिम समुदायका प्रतिनिधिहरूसँग छुट्टै बैठक गरी घटनाको कारण, प्रभाव र सामाजिक सद्भाव कायम गर्ने उपायबारे छलफल गरिएको उनको भनाइ छ।

‘सुनसरीमा सुरु भएको घटना कसरी सिरहाको गोलबजारसम्म फैलियो? आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो? र ‘गणेश यादवको मृत्यु कसरी भयो?,’ भन्ने विषयलाई प्राथमिकतामा राखेर छानबिन भइरहेको सदस्य सचिव अर्यालले भने।

पहिलो प्राथमिकता गोलीकाण्डको सत्यतथ्य उजागर गर्नु र घटनाको सम्पूर्ण पृष्ठभूमि अध्ययन गर्नु रहेको उल्लेख गर्दै प्रतिवेदन तयार गरी मन्त्रालयमा पेस गरिने उनले बताए।

छानबिन टोलीले सोमबार गोलबजारमा भएका घटनास्थलहरूको अनुगमन गरेको थियो भने सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग पनि छलफल गरेको थियो।

गोलबजारमा भएको आन्दोलनका क्रममा भएका व्यवसायीको भौतिक संरचना तथा सम्पत्तिमा भएको क्षतिको विवरण स्थानीय प्रशासन र जिल्ला प्रशासन कार्यालयले संकलन गरिरहेको सदस्य सचिव अर्यालले बताए।

गृह मन्त्रालयका सहसचिव शाहीको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिको सदस्यहरूमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक मोहनकुमार थापा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरेश भण्डारी, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक पवन ढुंगाना र सदस्य सचिवमा उपसचिव अर्याल रहेका छन्।

सुनसरीको देवानगञ्ज घटनाको विषयलाई लिएर सिरहाको गोलबजारमा गत साउन १४ गते भएको आन्दोलनका क्रममा गोली लागेर सिरहाको औरही गाउँपालिकाका गणेश यादवको मृत्यु भएको थियो।

घटनापछि गृहमन्त्री सुधन गुरुङले मृतक यादवको परिवारलाई घरमा पुगेर भेट गरेका थिए।

त्यसक्रममा उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित: १९ साउन २०८३ २०:२४ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast