ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ
काठमाडौँ- नेपालले गत आर्थिक वर्ष भारत र बंगलादेशमा विद्युत् निर्यात गरेर २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् निर्यातबाट उक्त आम्दानी भएको जानकारी प्रतिनिधिसभालाई मंगलबार दिएका हुन्।
कांग्रेस सांसद बासना थापाले नेपालको ऊर्जा प्रणालीको अवस्था तथा विद्युत् सेवा प्रवाहमा देखिएका समस्याबारे सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विद्युत् निर्यात बढ्नु सकारात्मक भए पनि त्यसलाई मात्रै ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न नसकिने बताए।
उनका अनुसार नेपालले गत आर्थिक वर्षमा करिब १० अर्ब ५५ करोड रुपैयाँको विद्युत् आयातसमेत गरेको थियो।
नेपालको जलविद्युत् उत्पादन मुख्यतः नदी प्रवाही प्रकृतिको भएकाले वर्षायाममा उत्पादन बढ्ने र हिउँदयाममा घट्ने गरेको मन्त्री श्रेष्ठले बताए। सुक्खायाममा आन्तरिक उत्पादन घट्दा भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था अझै कायम रहेको उनको भनाइ छ।
मन्त्री श्रेष्ठले विद्युत् निर्यात र स्वदेशी आपूर्तिलाई एकअर्काको विरोधाभासका रूपमा नभई उत्पादन, प्रसारण र वितरण प्रणालीका छुट्टाछुट्टै चुनौतीका रूपमा बुझ्नुपर्ने बताए।
उनका अनुसार पुराना, जीर्ण र न्यून क्षमताका वितरण संरचना तथा विद्युत् खपतमा भइरहेको तीव्र वृद्धिका कारण पनि आपूर्तिमा समस्या देखिने गरेको छ। घरेलु विद्युतीय उपकरणको प्रयोग बढेपछि गार्हस्थ्य विद्युत् माग हरेक वर्ष बढिरहेको तर पुराना संरचनाले बढ्दो भार धान्न नसक्दा कतिपय क्षेत्रमा विद्युत् अवरुद्ध हुने गरेको उनले बताए।


