प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ- बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा वर्षासँगै आएको पहिरोले दुई घर पुरिएका छन्। अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले दुईवटा घर पूर्ण रूपमा क्षति भएका हुन्।
गौमुल–३ का वडाध्यक्ष गोरखबहादुर बोहराका अनुसार पहिरोले स्थानीय बुदी बोहरा र पूर्णिमल बोहराको घरसँगै भित्र रहेका पशुचौपाया समेत पुरिएका छन्।
एक्कासी माथिबाट आएको पहिरोले घर पूर्ण रूपमा पुरिएका बताउँदै उनले आसपासका अन्य घर पनि पहिरोको उच्च जोखिममा रहेका जानकारी दिए। भिरालो जमिनका कारण तलका घर जोखिममा परेका उनको भनाइ छ।
लगातार भारी वर्षा भइरहनुका साथै अँध्यारो भइसकेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय भरत बोहराले बताए।
उहाँका अनुसार गाउँका थप २० परिवार पहिरोको उच्च जोखिममा छन्। पहिरो दिउँसोको समयमा गएकाले घरभित्र रहेका स्थानीय सुरक्षित स्थानमा गएका भन्दै मानवीय क्षति भने नभएको वडाध्यक्ष बोहराले जानकारी दिए।
उनका अनुसार घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, धनमाल, पशुचौपाया सबै पुरिएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार गाउँपालिकाको केन्द्र घट्मुनाबाट प्रहरीसहितको टोली त्रिपाल, पाललगायत उद्धारका लागि आवश्यक सामग्रीसहित घटनास्थलमा खटिएको छ।
केन्द्रबाट घटनास्थल पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्ने बताउँदै उक्त घटनाको यकिन विवरण प्राप्त हुन नसकेको उनले जानकारी दिए।


