काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले संयुक्त हिन्दु मोर्चाले अघि सारेको माग सम्बोधन गर्ने आश्वासन दिएका छन्। जनकपुरधामस्थित यात्री निवासमा आइतबार मोर्चाका प्रतिनिधिसँग भएको दोस्रो वार्ताका क्रममा गृहमन्त्री गुरुङले माग सम्बोधन गर्ने आश्वासन दिएका हुन्।
हिन्दु समाज सेनाका अध्यक्ष राजेश सनातनीले आफूहरूले अघि सारेका माग सम्बोधन गर्न गृहमन्त्रीले आश्वासन दिएको जानकारी दिए। आफूहरूले अघि सारेको हिन्दु राष्ट्र घोषणाका सम्बन्धमा काठमाडौँ पुगेर प्रधानमन्त्रीसँग छलफल गर्ने आवश्वासन गृहमन्त्रीबाट पाएको उनले बताए।
‘हिन्दु राष्ट्रको मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर गृहमन्त्रीसँग आज वार्तामा बसेका थियौँ,’ उनले भने, ‘यस विषयमा काठमाडौँ जानेबित्तिकै प्रधानमन्त्रीसँग कुरा गर्ने उहाँले आश्वासन दिनुभएको छ। उहाँले दिनुभएको आवश्वासनप्रति हामी ढुक्क छौँ।’
वार्ताका क्रममा अब कुनै पनि धर्मावलम्बीलाई कसैले गोली नहान्ने आश्वासन गृहमन्त्री गुरुङले दिएका छन्। शनिबार राति १३ बुँदे सहमति भएको भनिए पनि त्यो सत्य नरहेको मोर्चाका प्रतिनिधिहरूले बताएका छन्। मागपत्र प्रस्तुत गरिएको वार्तालाई सहमतिमा टुंगिएको भनेर प्रचार गरिएको उनीहरूको भनाइ छ।
आइतबार भएको वार्ताका क्रममा मोर्चाले पुनः ६ वटा बुँदा थपेर मागपत्र प्रस्तुत गरेको छ। हिन्दु सम्राट् सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले माग सच्चाइएको बताए। उनले भने, ‘केही माग सच्याउनुपर्ने थियो। हामी र गृहमन्त्रीज्यूले सच्याएका छौँ, हामीले ६ वटा बुँदा थप गरेका छौँ।’
गृहमन्त्रीले माग पूरा गर्ने आश्वासन दिएको उनले बताए। उनले भने, ‘लिखित र मौखिक आश्वासन दिनुभएको छ। अब कुनै पनि धर्मावलम्बीलाई कसैले पनि गोली नहान्ने आश्वासन गृहमन्त्रीले दिनुभएको छ।’
शनिबार राति भएको वार्तामा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायतका व्यक्तिहरू उपस्थित भए पनि आइतबार उनीहरूलाई सहभागी गराइएको थिएन।
आइतबार भएको वार्तामा गृहमन्त्री गुरुङ, संयुक्त हिन्दु मोर्चाका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूलाई मात्रै सहभागी गराइएको थियो।
गृहमन्त्रीले पूरा गर्ने आश्वासन दिएको भनिएका मागहरू यस्ता छन्



