जनकपुरमा गृहमन्त्री र आन्दोलनरत पक्षबीच वार्ता जारी

हिमाल प्रेस १६ साउन २०८३ १५:२१ | Saturday, August 1, 2026
8
SHARES
जनकपुरमा गृहमन्त्री र आन्दोलनरत पक्षबीच वार्ता जारी

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ र हिन्दु सम्राट सेनालगायत आन्दोलनकारी समूहका प्रतिनिधिबीच जनकपुरधाममा वार्ता सुरू भएको छ।

जिल्ला प्रशासन कार्यालयस्थित अधिकृत संगमको सभाकक्षमा वार्ता सुरू भएको हो।

गृहमन्त्री गुरुङ सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग गएराति भेट गरेर माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।

गोलबजारबाट उनी वार्ताका लागि शनिबार जनकपुर पुगेका हुन्।

शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा सद्भाव ¥याली निकालिएको थियो।

तर, हिन्दु सम्राट सेनालगायतका समूहले सद्भाव ¥यालीप्रति अनसन्तुष्टि जनाउँदै ‘हिन्दु राष्ट्र’ को सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताएका थिए।

सद्भाव ¥यालीकै बीचमा असन्तुष्ट समूह विरोधमा उत्रिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले गृहमन्त्री गुरुङसँग वार्ता गराउने प्रतिबद्धता जनाएका थिए।

साउन १० गते सुनसरीको कप्तानगंजमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लामा प्रदर्शन र आन्दोलन चर्किएको थियो।

प्रदर्शनकै क्रममा बिहीबार सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो।

आन्दोलन शान्त पार्न भन्दै गृहमन्त्री गुरुङ यतिबेला तराईका जिल्लाका भ्रमण गरिरहेका छन्। पीडित परिवार र आन्दोलनरत पक्षसँग वार्ता गरेपछि माहोल क्रमिक रुपमा शान्तिपूर्ण बन्दै गएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार बिहान १० बजेदेखि कफ्र्यु आदेश फिर्ता लिए पनि निषेधाज्ञा भने जारी छ।

प्रकाशित: १६ साउन २०८३ १५:२१ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast