काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट हुने स्याउको आयात रोक्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले नेपाली किसानले उत्पादन गरेको स्याउ बजार अभावका कारण समस्यामा परेको भन्दै विदेशी स्याउको आयात नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले अघिल्लो आर्थिक वर्षमा मात्रै करिब १० अर्ब ५५ करोड ७५ लाख रुपैयाँभन्दा बढीको स्याउ विदेशबाट आयात भएको दाबी गरे। उनका अनुसार अघिल्लो वर्षको साउनमा मात्रै एक अर्ब ५ करोड ४४ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको थियो।
शाहीले जुम्लाको कृषि सम्भावनालाई राज्यले पर्याप्त रूपमा उपयोग गर्न नसकेको पनि बताए। जुम्लामा करिब ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिन रहे पनि त्यसको करिब ११ प्रतिशत क्षेत्रमा मात्रै खेती भइरहेको भन्दै उनले बाँकी जमिन उपयोगमा ल्याउन सरकारको ध्यान जानुपर्ने बताए।


