गणेश पाण्डेको ‘द एभरेस्ट ड्रिम’लाई अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड

हिमाल प्रेस २८ साउन २०८३ १२:१४ | Thursday, August 13, 2026
8
SHARES
गणेश पाण्डेको ‘द एभरेस्ट ड्रिम’लाई अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड

काठमाडौँ- निर्देशक गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रिम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ। अगस्ट ६ देखि ९ सम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट ‘द एभरेस्ट ड्रिम’ मात्र छनोट भएको थियो।

महोत्सवका कार्यकारी निर्देशक तथा फेस्टिभल डाइरेक्टर डा. रिचर्ड टाभेनारोका अनुसार संसारभरबाट प्राप्त फिल्महरूको प्रतिस्पर्धामा ‘द एभरेस्ट ड्रिम’ले उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड प्राप्त गरेको हो। ब्रेन इन्जुरीबाट बाँचेका बेलायती नागरिकहरूको असाधारण सगरमाथा यात्रामा आधारित ‘द एभरेस्ट ड्रिम’ले गम्भीर मस्तिष्क चोटपछि जीवनसँग संघर्ष गरिरहेका व्यक्तिहरूले पुनः जीवनमा सपना देख्दै त्यसलाई पूरा गर्न गरेको प्रयासको कथा प्रस्तुत गरेको छ।

डाक्टरहरूले पुनः सामान्य रूपमा हिँड्न, बोल्न वा दैनिक जीवनमा फर्किन कठिन हुने बताएका केही व्यक्तिहरूले हार नमानी नेपाल आएर सगरमाथा आधार शिविर पुग्ने सपना बोकेका थिए। द लिटिल शेर्पा फाउण्डेसनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना ब्रेन इन्जुरीबाट बाँचेका व्यक्ति तथा उनीहरूका परिवारसहित सात जनाको टोली सगरमाथा आधार शिविर पुगेको थियो। यही असाधारण यात्रालाई निर्देशक पाण्डेले करिब डेढ वर्ष लगाएर डकुमेन्ट्रीमा प्रस्तुत गरेका हुन्।

‘द एभरेस्ट ड्रिम’ले पाण्डेको अन्तर्राष्ट्रिय डकुमेन्ट्री यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपेको छ। यसअघि उनको चर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ ले सन् २०१७ मा यही कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको थियो। बहुपति प्रथामाथि आधारित उनको अर्को डकुमेन्ट्री ‘को–हजबेण्ड’ ले सन् २०२२ मा सोही महोत्सवमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड प्राप्त गरेको थियो।

यसरी पाण्डेका तीन फरक डकुमेन्ट्रीले एउटै अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा तीन फरक वर्ष २०१७, २०२२ र २०२६ मा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेका छन्। नेपाली डकुमेन्ट्रीका लागि यो विशेष अन्तर्राष्ट्रिय उपलब्धि मानिएको छ। ‘भाग्यले बाँचेकाहरू’ले १७ भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार जित्नुका साथै ३२ भन्दा बढी देशमा प्रदर्शन भएको थियो।

त्यस्तै ‘को–हजबेण्ड’ले पनि एक दर्जनभन्दा बढी उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जित्दै ४० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागिता जनाएको थियो। ‘द एभरेस्ट ड्रीम’मा एसोसिएट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, संगीतकार जुगल डंगोल र सन्दीप सरदार तथा न्यारेटर कौशल घिमिरेको योगदान छ।

‘द एभरेस्ट ड्रिम’ले नेपालमा प्रिमियरपछि अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूको यात्रा सुरु गरेको हो। फिल्मले आगामी दिनमा विश्वका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागिता जनाउने तयारी गरिरहेको निर्देशक पाण्डेले बताए।

प्रकाशित: २८ साउन २०८३ १२:१४ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast