काठमाडौँ- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का पूर्वमहासचिव तथा श्रीलंकाका अनुभवी वरिष्ठ कूटनीतिज्ञ निहाल रोड्रिगोको निधन भएको छ। सार्क सचिवालयले आधिकारिक सामाजिक सञ्जालमार्फत उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवार, श्रीलंका सरकार र जनताप्रति समवेदना प्रकट गरेको छ।
रोड्रिगो सार्कका छैटौँ महासचिव थिए। उनले सन् १९९९ जनवरी १ देखि २००२ जनवरी १० सम्म काठमाडौँस्थित सार्क सचिवालयको नेतृत्व गरेका थिए। उनको कार्यकाल दक्षिण एसियामा क्षेत्रीय सहकार्यका लागि महत्वपूर्ण समय रहेको थियो। उनको कार्यकालमा सार्क महासचिवलाई भेट्न कुनै रोकटोक थिएन। कुनै काम विशेष भएमा कुराउने अन्यथा सिधा आउनु समय लिनु पर्दैन भन्ने शब्द अहिले पनि गुन्जिरहेको छ।
सन् २००२ तिर खासै धेरै पत्रकार थिएनौँ, अनि कूटनीतिक मामिलामा लेख्ने त विरलै। त्यो समयमा उनले प्रेसलाई दिने महत्व र त्यो समयमा सार्क सिखर सम्मेलनको तयारीको लागि उनको खटाई साँच्चै लोभलाग्दो थियो। उनले साचिवालयलाई हुलाकी बनाउने होइन जिम्मेवार बनाउने तर्फ लविङ पनि गरे तर त्यो काम लागेन।
उनको महासचिवको कार्यकालको अन्त्यतिर २००२ जनवरीमा काठमाडौँमा आयोजित ११औँ सार्क शिखर सम्मेलनको तयारी र सफलतामा उनको योगदान उल्लेखनीय थियो। त्यसबेला दिइएको एक अन्तर्वार्तामा उनले सार्क शिखर सम्मेलनलाई केवल औपचारिक भेटघाट वा फोटो अवसरमा सीमित नगर्न जोड दिएका थिए।
काठमाडौँसँग उनको सम्बन्ध सार्क सचिवालयको प्रमुख भन्दा फराकिलो थियो। श्रीलंकाको कान्दी (क्यान्डी) मा जन्मिएका रोड्रिगो ट्रिनिटी कलेज, कान्दीका विद्यार्थी थिए। त्यहाँ उनले क्यान्डियन नृत्यसमेत सिकेका थिए। जुन पछि कूटनीतिक कार्यमा समेत उपयोगी भएको उनले सुनाउँथे।
स्नातकपछि पेरादेनिया विश्वविद्यालयमा अंग्रेजी शिक्षणमा संलग्न रहेका उनले सन् १९६० को दशकमा सिंहल र तमिल माध्यमका विद्यार्थीहरूलाई अंग्रेजी पढाउँथे। त्यसपछि छोटो समय ट्रिनिटीमै शिक्षण गरेर श्रीलंका विदेश सेवामा प्रवेश गरेका निहाल पछि यस क्षेत्रकै अब्बल कूटनीतिज्ञ बने।

१९६५ को ब्याचका निहालकोे कूटनीतिक करियर अत्यन्त समृद्ध रह्यो। उनले श्रीलंकाको विदेश मन्त्रालयबाट चुनौतिपूर्ण र प्रमुख जिम्मेवारीहरू लिए। उनी सार्क महासचिवको रुपमा १९९९–२००२ सम्म रहे। त्यसलगत्तै उनी श्रीलंकाको विदेश सचिव (२००३–२००४) भए। त्यसपछि उनी चीनका लागि श्रीलंकाका राजदूत भएर सन् २००७ सम्म बेइजिङमा रहे।
त्यस अवधिमा उनले उत्तर कोरिया र मंगोलियाका लागि पनि प्रतिनिधित्व गरे। हम्बन्तोटा बन्दरगाहको प्रारम्भिक काम, प्रदर्शन कला केन्द्र, श्रीलंकाली एयरलाइन्सको चीन उडान र सैन्य सहयोगजस्ता महत्वपूर्ण उपलब्धिहरू उनको कार्यकालसँग जोडिएका छन्।
दुई राष्ट्रपति (चन्द्रिका कुमारतुङ्गा र महिन्दा राजपक्षे) को चीन भ्रमणसमेत यस अवधिमा गराएका उनी श्रीलंकामा मात्र होइन यस क्षेत्रमा नै सफल कूटनीतिज्ञकव् छवि बनाएका थिए। उनी संयुक्त राष्ट्रसंघका लागि श्रीलंकाका स्थायी प्रतिनिधि (न्यूयोर्कमा तीन पटक र जेनेभारभियनामा एक पटक) भएका थिए। उनी राष्ट्रपतिलाई विदेश सम्बन्धसम्बन्धी सल्लाहकार समेत भएर काम गरे।
संयुक्त राष्ट्रसंघ महासचिवको निशस्त्रीकरणसम्बन्धी सल्लाहकार बोर्ड सदस्य समेत रहेका उनले असंलग्न आन्दोलन (नाम) सम्बन्धी कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। श्रीलंकाको अध्यक्षताका बेला समन्वयकारी भूमिका तथा ११औँ नाम समिटको राजनीतिक समिति अध्यक्ष समेत भएका थिए।
उनले दक्षिण एसिया, संयुक्त राष्ट्रसंघ र अन्य विभागहरूको नेतृत्व गरिसकेकाले यस क्षेत्रको एक होनाहार कूटनीतिज्ञ हुन्। सार्कबाट अवकाशपछि पनि उनी क्षेत्रीय कूटनीतिमा सक्रिय रहेका थिए। उनी श्रीलंकाको डिफेन्स सर्भिस कमान्ड एन्ड स्टाफ कलेज, कोलम्बो विश्वविद्यालय, बन्दरनाइके अन्तर्राष्ट्रिय कूटनीतिक तालिम संस्थानमा अन्तर्राष्ट्रिय सम्बन्धका अतिथि प्राध्यापक तथा क्षेत्रीय रणनीतिक अध्ययन केन्द्रको बोर्ड सदस्य रहेर योगदान गर्दै आएका थिए।
भारतीय महासागर सुरक्षा र श्रीलंकाको छिमेकी सम्बन्धबारे विश्लेषणात्मक काम पनि गर्दै आएका थिए उनले। निहालको निधनसँगै श्रीलंकाले मात्र होइन, सम्पूर्ण दक्षिण एसियाली कूटनीतिले क्षेत्रीय सहकार्य, असंलग्न आन्दोलन र बहुपक्षीय कूटनीतिमा दशकौँको अनुभव बोकेको एक अनुभवी र प्रभावशाली कूटनीतिज्ञ गुमाएको छ। उनको योगदान सधैँ स्मरणीय रहनेछ। हार्दिक श्रद्धाञ्जली निहाल साव।


