विश्वप्रकाश शर्मा
काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा लामो समयपछि स्वदेश फर्किएको अवस्थामा सबैको कुरा सुन्ने वातावरण बनाउनुपर्ने बताएका छन्। उनले पार्टीमा युवा नेतृत्वलाई सहज रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले देउवा स्वदेश फर्किएपछि पार्टीभित्र संवाद र छलफलको वातावरण बनाउनुपर्ने धारणा राखे। ‘पूर्वसभापति शेरबहादुर देउवा बोल्दै गर्दा भन्दिनुपर्थ्र्यो- लामो समयपछि देश फर्केको छु, सबैको कुरा सुन्न चाहन्छु,’ शर्माले भने।
उनले नेपाली कांग्रेस अहिले विधि र प्रक्रियामार्फत परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने बताए। ३६ वर्षको युवकलाई देशको प्रधानमन्त्रीका रूपमा स्वीकार गर्न सकिने अवस्थामा पार्टी नेतृत्वमा पनि युवा पुस्तालाई स्वीकार गर्नुपर्ने उनको भनाइ थियो।
‘नेपाली कांग्रेस अहिले विधि र प्रक्रियामार्फत् परिवर्तनको अध्यायमा छ,’ शर्माले भने,‘युवालाई अगाडि बढाउने विषयमा हामीले ३६ वर्षको युवक देशको प्रधानमन्त्री भएको इतिहासलाई आत्मसात गरेका छौँ भने ५० वर्ष हाराहारीको युवाले पार्टीको नेतृत्व गर्ने कुरालाई पनि सहज रूपमा स्वीकार्नुपर्छ।’
शर्माको भनाइ वर्तमान सभापति गगन थापाको नेतृत्वलाई पार्टीभित्र सहज रूपमा स्वीकार गर्नुपर्ने पक्षमा केन्द्रित थियो। उनले युवा पुस्ताको नेतृत्वले कांग्रेसलाई नयाँ चरणमा अघि बढाउन सक्ने धारणा राखे।
आगामी १५औँ महाधिवेशनबाट गगन थापालाई अत्यधिक मतसहित सभापति बनाउने आफ्नो पक्षको प्रतिबद्धता रहेको पनि शर्माले दोहोर्याए। ‘गगन थापाको पक्षमा ५१ होइन, ७१ प्रतिशत मत ल्याएर सभापति बनाएर जान हामी प्रतिबद्ध छौँ,’ उनले भने।
उनले कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमै हुनेसमेत बताए।


