काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।
रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो।
वार्ताका क्रममा मन्त्री वङले विपद्का कारण भएको मानवीय क्षतिप्रति अस्ट्रेलिया सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपाललाई परेको कठिन परिस्थितिमा आवश्यक सबै सम्भव सहयोग गर्न अस्ट्रेलिया सरकार तयार रहेको बताइन्।
परराष्ट्रमन्त्री खनालले मन्त्री वङमार्फत अस्ट्रेलिया सरकार तथा त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता र सहयोगका लागि आभार व्यक्त गरे। उनले विशेषगरी संकटको यस घडीमा अस्ट्रेलियाले देखाएको सद्भाव र सहयोगप्रति धन्यवाद दिए।
मन्त्री खनालले विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराए।


