इभेन्ट बेटर ग्यालेक्सीका संस्थापक धीरज तण्डुकार बेलायतमा सम्मानित

हिमाल प्रेस २६ साउन २०८३ १३:५१ | Tuesday, August 11, 2026
4
SHARES
इभेन्ट बेटर ग्यालेक्सीका संस्थापक धीरज तण्डुकार बेलायतमा सम्मानित
काठमाडौँ- इभेन्ट बेटर ग्यालेक्सीका संस्थापक धीरज तण्डुकार बेलायतमा सम्मानित भएका छन्। उनलाई बेलायतको एपेक्स हेल्थ केयर सेन्टरले ‘बेस्ट प्रोफेसनल्ली ड्रेस’ विधाको अवार्डबाट सम्मान गरेको हो। धीरजले अन्तर्राष्ट्रिय स्तरमा अवार्ड पाउँदा गर्वले छाती चौडा भएको बताए । उनले यो सम्मानलाई आफूले गरेको मेहनतको प्रतिफलका रूपमा लिएको बताए।
सन् २००० मा मोडलिङ क्षेत्रमा प्रवेश गरेर सन् २००१ मा ‘मिस्टर काठमाडौं’को उपाधि जितेपछि धीरज मोडलिङ र ग्ल्यामर क्षेत्रमा सक्रिय छन्। इभेन्ट बेटर ग्यालेक्सी स्थापना गरेर उनले झण्डै २४ वर्ष विभिन्न प्रकारका प्रतियोगिता, फेसन शो र कार्यक्रमहरूको आयोजना गर्दै बिताएका थिए। उनको संस्थाले ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस’, ‘नेसनल किड्स अफ द इयर’, ‘मिसेस क्विन नेपाल’, ‘मिस्टर एन्ड मिस टिन’, ‘मोडल हन्ट’, ‘फेसन एन्ड स्टाइल’ लगायत अनेकौं फेसन शो आयोजना गरेका छन् । फुटबल खेलाडीहरूलाई समेटेर ‘ग्ल्यामर एन्ड स्पोट्र्स’ तथा ‘नाडा अटो शो’ जस्ता कार्यक्रमहरू समेत सञ्चालन गरिसकेका छन्।
उनले केही फिल्ममा अभिनय र मोहन भुसाल, निर्णय श्रेष्ठ लगायतका गायकको म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन्। एक वर्षयता परिवारसहित बेलायतमा बस्दै आएका धीरजले त्यहीँ नेपाली कला, संस्कृति र फेसनसँग जोडिएका कार्यहरू गर्दै आएका छन्। ‘बेलायत पुगेपछि नेपालप्रतिको माया झन् बढेको छ । यहाँ कामको व्यस्तता भएपनि समय निकालेर नेपाली कला, संस्कृति र फेसनसँग सम्बन्धित कार्यक्रमहरूमा निरन्तर सहभागी भइरहेको छु’, उनले भने।
धीरजले लण्डनमा भएको भिक्टोरिया महोत्सवमा भएको रोड शोमा धीरजसहित त्यहाँका नेपालीहरुले नेपाली र नेवारी पहिरनमा सजिएर धिमे बाजासहित सहभागिता जनाउँदै सबैले प्रशंसा गरेको अनुभव सुनाए। धीरजले लन्डनमा नेपाली संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले एउटा कम्पनी स्थापना गरेको खुलाए । जुन कम्पनीले पाचपुचः गुठीसँग मिलेर म्हपूजा, बिस्केट जात्रालगायतका कार्यक्रम आयोजना गरेका छन्। धीरज र उनको टिमले गुफा राख्ने संस्कारदेखि पास्नी, व्रतबन्ध, विवाह र मृत्युसम्मका परम्पराहरूलाई एउटै फेसन शोमार्फत प्रस्तुत गरेका थिए।
प्रकाशित: २६ साउन २०८३ १३:५१ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast