काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन्। शनिबार बिहान अन्दाजी ८:२५ बजे बा प्र ०८-१ ख ००५२ नम्बरको बस अचानक गुडेर रोकिराखेको बा प्र ३-००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करपछि ईभी भ्यान र बस सडकबाट अन्दाजी ३०-४० मिटर तल भिरमा खसेको थिए । दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो । घाइते मध्ये दुई जनालाई अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ८ बस्ने अन्दाजी ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका २ बस्ने अन्दाजी ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।
सर्लाहीको लालबन्दी नगरपालिका ९ घर भई हाल काठमाडौं काँडाघारी बस्ने अन्दाजी २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका ६ घर भई हाल काठमाडौं काँडाघारी बस्ने अन्दाजी ६० वर्षीया ज्ञानु श्रेष्ठको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
बस चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


