काठमाडौँ- पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूको शव उद्धार अभियान जारी रहेको छ ।
निर्मल पुर्जाका व्यवसायिक साझेदार मिङ्मा डेभिड शेर्पाका अनुसार उद्धारमा खटिएको ग्राउन्ड टिमले दिवंगत आरोहीहरूलाई पहिलो चरणमा क्याम्प–१ सम्म झार्ने तयारी गरेको जनाएको छ ।
उद्धार अभियानमा संलग्न टोलीका अनुसार आइतबार शवहरू हालको स्थानबाट क्याम्प–१ सम्म ल्याइनेछ । त्यसपछि सोमबार जापानी क्याम्पसम्म झार्ने योजना रहेको छ । मौसम र हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली र शवहरूलाई थप सुरक्षित स्थानमा सार्ने सम्भावना रहेको बताइएको छ ।
टोलीले उद्धार अभियानको मुख्य उद्देश्य दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउने रहेको जनाएको छ। साथै अभियानमा संलग्न सम्पूर्ण उद्धारकर्मीको सुरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता भएको उल्लेख गर्दै हरेक निर्णय टोलीको सुरक्षालाई केन्द्रमा राखेर लिइएको जनाएको छ ।
उद्धार अभियानका क्रममा नेपाल सरकार, पाकिस्तान सरकार, पाकिस्तानस्थित नेपाली दूतावास, नेपालस्थित पाकिस्तानी दूतावास, पाकिस्तानी सेना, अल्पाइन क्लब अफ पाकिस्तान तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै अभियान सफल बनाउन निरन्तर सहयोग, विश्वास र प्रार्थनाको आवश्यकता रहेको पनि टोलीले जनाएको छ ।
गत बिहीबार (१४ साउन-ब्रड पिक क्षेत्रमा गएको हिमपहिरोमा कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना आरोही बेपत्ता भएका थिए । बेपत्तामध्ये ६ जना नेपाली थिए । निर्मल पुर्जाको निधन भएको पुष्टि शनिबार भएको हो । पुर्जा उक्त आरोहण टोलीका नेता थिए ।


