८२९ जनाको हवाई उद्धार, ड्रोन र सैनिक कुकुर परिचालन

हिमाल प्रेस १२ भदौ २०८३ १०:१० | Friday, August 28, 2026
८२९ जनाको हवाई उद्धार, ड्रोन र सैनिक कुकुर परिचालन

काठमाडौँ- रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धार तथा राहतका लागि नेपाली सेनाले खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ६ वटा सैनिक र ९ वटा गैरसैनिक हेलिकप्टर उद्धार कार्यमा परिचालन गरिएका छन्।

हालसम्म नेपाली सेनाको हवाई साधनबाट ७२४ जना र गैरसैनिक हवाई साधनबाट १०५ जना गरी कुल ८२९ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १०१ जना विदेशी नागरिक रहेका छन्।

त्यस्तै, २०० जनाको जमिनबाट उद्धार गरिएको सेनाले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणका लागि नेपाली सेनाका ४ हजार ५ सयभन्दा बढी फौज परिचालन गरिएको छ।

सेनाले प्रभावित क्षेत्रमा निरन्तर खोज तथा उद्धारका साथै राहत सामग्री वितरणको काम गरिरहेको जनाएको छ।

उद्धारसँगै प्रभावितको उपचारलाई पनि प्राथमिकता दिइएको छ। वीरेन्द्र अस्पतालबाट डाक्टर अधिकृतसहित खटिएको मेडिकल टोलीले त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रमार्फत ५८३ जनालाई स्वास्थ्य सेवा दिएको छ।

यस्तै, फिल्ड एम्बुलेन्सबाट धुन्चे क्षेत्रमा खटिएको मेडिकल टोलीले ५६२ जनालाई उपचार तथा स्वास्थ्य सेवा प्रदान गरेको छ। यसरी हालसम्म १ हजार १४५ जनाले स्वास्थ्य सेवा पाएका छन्।

खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ड्रोन र सैनिक कुकुरसमेत प्रयोग गरिएको सेनाले जनाएको छ।

यसैगरी, नेपाली सेनाका २० वटा ट्रकमार्फत त्रिशूलीमा राहत सामग्री ढुवानी भइरहेको छ। त्रिशूलीमा संकलित राहत सामग्रीलाई आवश्यकताअनुसार हवाई साधनमार्फत बाढी प्रभावित क्षेत्रमा पुर्‍याउने कामसमेत भइरहेको छ।

सेनाले बाढी प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहत वितरणको कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रकाशित: १२ भदौ २०८३ १०:१० | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast