मर्दी पदयात्रामा निस्केका ३ युवा सकुशल फेला, उद्धार प्रयास जारी

हिमाल प्रेस २१ साउन २०८३ ९:५२ | Thursday, August 6, 2026
14
SHARES
मर्दी पदयात्रामा निस्केका ३ युवा सकुशल फेला, उद्धार प्रयास जारी

पोखरा- कास्कीको मर्दी पदयात्रामा जाने क्रमममा सम्पर्कविहीन तीन जना युवा सकुशल फेला परेका छन्। अन्नपूर्ण गाउँपालिका वडा ११, छोमरोङको पिंधस्थित मोदी खोलाको पारिपट्टि उनीहरु सकुशल भेटिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। ३ दिनदेखि सम्पर्कविहीन उनीहरुले २ दिनसम्म ओढारमा रात बिताएका थिए।

पदयात्राका क्रममा पोखरा–१४, खसीबजार निवासी २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र २३ वर्षका दीपेश गुरुङ बाटो बिराएर भिर र जंगलको बीचमा पर्ने मोदी खोलाको किनारमा पुगेको प्रारम्भिक अनुमान छ।

तर मोदी खोलामा पानीको अत्यधिक बहावले तत्काल उद्धार सम्भव हुन सकेको छैन। उद्धारका लागि डोजरको प्रयोग गरी रुख ढालेर अस्थायी पुल निर्माण गर्ने प्रयाससमेत सफल हुन सकेको छैन। उक्त स्थानसम्म पुग्ने पारि अर्थात मर्दीपट्टीको भागमा असाध्यै भिरालो, अग्लो र कठिन भीर रहेको हुनाले उताबाट प्रयास गर्दा अझ ढिलो हुनसक्ने ठानिएको स्थानीय बताउँछन्। सुरक्षित स्थानमा ल्याउन बिहीबार बिहानैदेखि सुरक्षाकर्मीको थप टोली उद्धारमा खटिएको छ।

१९ साउनमा मर्दी हिमाल ट्रेकिङका लागि निस्किएका उनीहरु माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडाको जंगलमा अलपत्र परेका थिए। भोलिपल्ट बिहान ८ बजेसम्म सम्पर्कमा रहेका ती युवाहरु त्यसपछि सम्पर्कविहीन भएका थिए । उनीहरु हराएको सूचना पाएपछि बादलडाँडामा होटल सञ्चालक प्रेम अधिकारीको नेतृत्वमा ४ जनाको टोली खोजीका लागि खटिएको थियो।

बुधबार साँझ पौने ६ बजे मोदी खोलापारि स्थानीयले देखेपछि घान्द्रुक र बगरबाट प्रहरी टोली तथा सशस्त्र प्रहरीको कालिका गणबाट १० जनाको टोली घटनास्थल पुगेको थियो । खोलामा पानीको बहाव निकै ठूलो भएकाले आइतबार राति अबेरसम्म प्रयास गर्दा पनि उनीहरुलाई वारि ल्याउन नसकिएको प्रहरीले जनाएको छ । उद्धारमा खटिएको टोलीले खोलामा फड्के बनाउने तयारी गरेको छ । युवाहरुको मोबाइल स्वीच अफ भएकाले उद्धार टोलीले खोलावारीबाट संकेत र आवाजका माध्यमबाट समन्वय गरिरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेलले सुरक्षित उद्धारका लागि बिहानैदेखि थप प्रयास भइरहेकोमा भूगोल र मौसमको अवस्था हेरी हेलिकोप्टरमार्फत समेत उद्धारको प्रयास हुने आश्वासन दिएका छन् ।

प्रकाशित: २१ साउन २०८३ ९:५२ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast