काठमाडौँ- नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५० औँ वार्षिकोत्सवको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रजेन्ट्स १८ औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।
आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने यो मेला नेपालकै अहिलेसम्मकै ठूलो मोबिलिटी प्रदर्शनी हुने बताइएको छ।
सन् १९७५ मा स्थापना भएको नाडाले पाँच दशक पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको पृष्ठभूमिमा यो प्रदर्शनी आयोजना हुन लागेको हो।
प्रदर्शनीमा दुई सयभन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ।
मेलामा २३ वटा चारपाङ्ग्रे (यात्रुवाहक) ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डहरुको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ।
यसका साथै पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसम्बन्धी करिब ७० वटा कम्पनीका साथै १० वटा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीहरु सहभागी हुनेछन्।
पाँच दशकको अवधिमा नेपाल अटोमोबाइल क्षेत्रले ठूलो फड्को मारेको छ। हाल नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्। विगत पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारी तथा सम्बन्धित सामग्री आयात गर्दा राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको छ।
त्यस्तै हरित गतिशीलतातर्फ उन्मुख हुँदै देशमा करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेका छन्।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले यो स्वर्ण जयन्ती संस्करण केवल एउटा संस्थाको उत्सवमात्र नभएर सिंगो उद्योगको योगदानको लेखाजोखा रहेको बताए।
‘पचास वर्ष भनेको कुनै उद्योगलाई कति बिक्री ग¥यो भन्ने आधारमा होइन, कति धानिरहेको छ भन्ने आधारमा नाप्न थाल्न पर्याप्त समय हो। भदौ ९ गते हामीले गर्न लागेको प्रदर्शनी त्यही हो,’ उनले भने।


