काठमाडौँ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय स्रोत, कृषि र उद्यमलाई केन्द्रमा राखेर गाउँमै रोजगारी सिर्जना गर्ने अभियान अघि बढाएको छ।
नगरपालिकाका उपप्रमुख विशन राईले हिमालप्रेससँग कुरा गर्दै उत्पादनलाई व्यावसायिक र ठूलो परिमाणमा विस्तार गर्दै उद्योग तथा बजारसँग जोड्न र युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्न उक्त अभियान अघि बढाएको बताए।
नगरपालिकाले ‘उत्पादनमा उपमेयर महाअभियान’ मार्फत कृषि उत्पादन, रोजगारी सिर्जना, पुँजी निर्माण र सुशासनलाई प्राथमिकतामा राखेको उनले बताए। उनका अनुसार अभियानको मुख्य उद्देश्य स्थानीय भूगोल र माटोको विशेषताअनुसार उत्पादन बढाएर नागरिकलाई आफ्नै गाउँमा आम्दानीको अवसर सिर्जना गर्नु हो।
‘हामीले युवा बेच्नु पर्दैन, मान्छे बेच्नु पर्दैन। वस्तु बेचेरै यो देश धनी हुन्छ,’ राईले भने,‘गाउँमा रोजगारी र आम्दानी गर्न सकिन्छ भन्ने विश्वास पैदा गर्न सकियो भने विदेश जाने बाध्यता हटाउन सकिन्छ।’
नगरपालिकाले भूगोलअनुसार किबी, कफी र पशुपालनलाई प्राथमिकतामा राखेको छ। राईको भनाइमा नगर क्षेत्रको माथिल्लो भूभाग किबी उत्पादनका लागि र मध्य क्षेत्र कफीका लागि उपयुक्त छ भने तल्लो भूभाग तथा साप्सु-दिखुवा क्षेत्रलाई पशुपालनका लागि उपयोग गर्ने योजना छ।
नगरपालिकाले कफी खेती विस्तारका लागि पछिल्ला वर्षमा ठूलो संख्यामा बिरुवा वितरण गरेको छ। दुई वर्षअघि ८२ हजार, गत वर्ष करिब डेढ लाख र चालु वर्ष करिब २२ लाख कफीका बिरुवा निःशुल्क वितरण गरिएको राईले बताए। बाँझो जमिन उपयोगमा नआएसम्म बिरुवा उत्पादन र वितरणलाई निरन्तरता दिने उनको भनाइ छ।
‘परम्परागत खेतीमै अड्किएर पहाडको जीवन बदलिँदैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारले खोजेका उच्च मूल्यका वस्तु व्यावसायिक रूपमा उत्पादन गर्नुपर्छ।’
राईका अनुसार कफी खेतीलाई घाँस, फलफूल र पशुपालनसँग जोडेर एकीकृत कृषि प्रणाली विकास गर्ने योजना छ। कफीको माथिल्लो भागमा छाया दिने फलफूल तथा घाँस, तल कफी र त्यससँगै पशुपालन गर्ने प्रणालीबाट साना किसानले समेत राम्रो आम्दानी गर्न सक्ने उनको आकलन छ।
उत्पादनसँगै उद्योग र बजार
उत्पादन बढाएर मात्र नहुने भन्दै नगरपालिकाले कृषि उत्पादनलाई प्रशोधन उद्योगसँग जोड्ने तयारी गरेको छ। किबीबाट जुस तथा अन्य प्रशोधित वस्तु उत्पादन गर्ने उद्योग निर्माणको काम अघि बढिरहेको राईले बताए।
उनका अनुसार ठूलो परिमाणमा एउटै प्रकृतिको उत्पादन गर्न सके उद्योग सञ्चालन गर्न आवश्यक कच्चा पदार्थ उपलब्ध हुन्छ र त्यसपछि स्थानीय बजारसँगै काठमाडौँ तथा अन्तर्राष्ट्रिय बजारमा समेत वस्तु पठाउन सकिन्छ।
‘खोटाङको बजार काठमाडौँ मात्र होइन, वासिङटन, बेइजिङ र टोकियो पनि हुन सक्छ,’ उनले भने, ‘हामीले कुन वस्तुले कुन बजार लिन सक्छ भन्ने अध्ययन गरेर उत्पादन गर्नुपर्छ।’
राईले कफीलाई अन्तर्राष्ट्रिय बजारको ठूलो सम्भावना भएको उत्पादनका रूपमा व्याख्या गर्दै उत्पादन, प्रशोधन र बजारीकरणलाई एउटै योजनामा अघि बढाउनुपर्ने बताए।
नगरपालिकाले साप्सु-दिखुवा क्षेत्रलाई पशुपालनको ठूलो सम्भावना भएको क्षेत्रका रूपमा विकास गर्ने योजना बनाएको छ। प्राकृतिक रूपमा घाँसे वन क्षेत्र रहेको उक्त क्षेत्रमा खुला पशु चरन, पानीका पोखरी, गोठ तथा पहुँचमार्ग निर्माण गरेर युवालाई व्यावसायिक पशुपालनमा जोड्ने योजना अघि सारिएको राईले बताए।
यसै योजनाअन्तर्गत चालु वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि २० लाख रुपैयाँ विनियोजन गरिएको र करिब एक करोड रुपैयाँ खर्च गरेर दुई खोलाको आसपास ट्र्याक खोल्ने तयारी गरिएको उनले जानकारी दिए।
राईका अनुसार यस क्षेत्रमा पशुपालनसँगै फलफूल, घाँसखेती र अन्न उत्पादनसमेत गर्न सकिने सम्भावना छ। वन क्षेत्रलाई उत्पादनसँग जोडेर युवालाई रोजगारी र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिने उनको भनाइ छ।
शिक्षालाई माटो र जीवनसँग जोड्नुपर्ने
राईले गाउँबाट युवाको पलायन रोक्न कृषि मात्र नभई शिक्षाको स्वरूप पनि परिवर्तन गर्नुपर्ने बताए। उनका अनुसार अहिलेको शिक्षाले युवालाई आफ्नो माटो र स्थानीय सम्भावनाभन्दा विदेशमा रोजगारी खोज्न प्रेरित गर्ने अवस्था देखिएको छ। ‘हामीले अक्षर धेरै चिन्यौँ, तर जीवन चिनेनौँ। माटो चिनेनौँ, सम्भावना चिनेनौँ,’ उनले भने,‘अब अक्षर मात्र होइन, जीवन र माटो पनि चिनाउने शिक्षा आवश्यक छ।’
उनले विद्यालय तहदेखि नै स्थानीय कृषि, उद्यम, प्रविधि र रोजगारीका सम्भावनाबारे विद्यार्थीलाई व्यवहारिक रूपमा बुझाउनुपर्ने बताए। खेतबारीमा लगेर स्थानीय माटोको विशेषता, उत्पादनको सम्भावना र त्यसबाट हुने आम्दानीबारे सिकाउने प्रणाली आवश्यक रहेको उनको भनाइ छ।
बाँदर व्यवस्थापनमा प्राकृतिक उपाय
कृषि उत्पादन र गाउँबाट बसाइँसराइको समस्यासँग जोडिएको बाँदर आतंकलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ। राईका अनुसार चालु वर्ष नगरपालिकाले बाँदर व्यवस्थापनका लागि ४५ लाख रुपैयाँ विनियोजन गरेको छ। तर बाँदर नियन्त्रणका लागि मार्ने, विष खुवाउने वा अन्य हिंसात्मक उपायभन्दा प्राकृतिक व्यवस्थापनमा जोड दिनुपर्ने उनको धारणा छ।
उनका अनुसार वन क्षेत्र, नदी किनार, सडक छेउ र बस्ती आसपासका क्षेत्रमा फलफूल तथा घाँसका रूख रोपेर वन्यजन्तुलाई जंगलमै पर्याप्त आहारको व्यवस्था गर्न सकिन्छ। त्यससँगै गाउँका बाँझा जमिनमा मकैकोदोको सट्टा कफी तथा अन्य व्यावसायिक बाली लगाउने हो भने मानिस र वन्यजन्तुको क्षेत्र छुट्याउन सकिने उनको तर्क छ।
‘बाँदरलाई बन्दुकले हान्नु, विष खुवाउनु वा लाठोमुङ्ग्रोले लखेटिरहनु समाधान होइन,’ राईले भने,‘उसकै जंगलमा फलफूल र आहारको व्यवस्था गरेर प्राकृतिक रूपमा व्यवस्थापन गर्न सकिन्छ।’
उनका अनुसार जंगलमा घाँस तथा फलफूलका बिरुवा विस्तार गर्दा पशुपालनसमेत बढाउन सकिने र बाँदरलाई बस्तीमा पस्नुपर्ने अवस्था घटाउन सकिनेछ।
राईले ‘गाउँ फर्क अभियान’ नाराले मात्र युवालाई गाउँमा फर्काउन नसकिने बताए। गाउँमै सुरक्षित आम्दानी, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारको वातावरण बनाउन सके मात्र बसाइँसराइ रोकिने उनको भनाइ छ।
उनका अनुसार कृषि ठूलो परिमाणमा व्यावसायिक रूपमा अघि बढे त्यसले उद्योग, बजार, कृषि पर्यटन, बैंक तथा अन्य सेवा क्षेत्रलाई समेत आकर्षित गर्छ। रोजगारी सिर्जना भएपछि मानिस गाउँमै बस्ने र त्यससँगै विद्यालय, स्वास्थ्य संस्था तथा अन्य पूर्वाधारको विकास हुने उनले बताए। ‘युवालाई गाउँ फर्क भनेर आह्वान गरेर मात्र हुँदैन, गाउँमै बस्न सक्ने परिस्थिति निर्माण गर्नुपर्छ,’ उनले भने।
राईले आफ्नो कार्यकालमा सडक, ढलान, कृषि टनेल, मेसिनरी तथा अन्य स्थानीय आवश्यकताका कार्यक्रमसँगै दीर्घकालीन आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको बताए। उनका अनुसार दिक्तेल-आहाले सडक, उत्तरी क्षेत्रका सडक तथा दिक्तेल बजारको अधुरो ढलानको काम अघि बढाइएको छ।
तर आफ्नो कार्यकालको मुख्य प्राथमिकता भने कृषि र त्यसबाट हुने आर्थिक रूपान्तरण रहेको उनले बताए। किबी, कफी र पशुपालनमा अहिले गरिएको लगानीको प्रतिफल आगामी वर्षमा देखिन थाल्ने उनको दाबी छ।
उनले नगरमा किबीका करिब ६० हजार बिरुवा रोपिसकिएको र कफीका लाखौँ बिरुवा विस्तार भइरहेको जानकारी दिए। यसबाट भविष्यमा हजारौँ कृषक परिवारलाई आफ्नै खेतबारीमा रोजगारी र आम्दानीको अवसर सिर्जना हुने उनको विश्वास छ।
यस्तो छ भिडियो अन्तर्वार्ता



