नेपाली कांग्रेसका सभापति गगनकुमार थापा
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनमा तीन ठूला दलहरू मिल्ने प्रस्तावप्रति विमति जनाएका छन्।
आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुने र त्यो जनताको म्यान्डेटविपरीत हुने बताए।
सत्ताका लागि अब सिद्धान्तमा सम्झौता नगर्ने सभापति थापाले बताए। उनले भने,‘सत्ताका लागि विगतका गल्ती दोहोर्याउँदैनौं।’
कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब त्यस्तो बाटोमा नहिँड्ने प्रतिबद्धता व्यक्त गरे।
‘सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा कांग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको छ,’ थापाले भने।
सभापति थापाले चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको औँल्याए। अब कांग्रेस सरकारमा जाने वा सत्ता टिकाइराख्ने खेलमा मात्र नलागी आफ्ना आधारभूत सिद्धान्त र नागरिकको म्यान्डेटप्रति इमानदार हुनुपर्नेमा उनले जोड दिए।
उनले भने,‘प्रदेश सरकारको सन्दर्भमा धेरैले हाम्रो भूमिका के हुन्छ भनेर सोध्नुहुन्छ। परिणाम जे भए पनि नेपाली कांग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन। विगतका गल्ती दोहोर्याउँदैनौँ। तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएकाले हामीले अस्वीकार गरेका छौँ।’

