सुर्खेत- कर्णाली प्रदेशमा सञ्चालित दुर–चिकित्सा सेवा (टेलिमेडिसिन) प्रभावकारी बन्दै गएको छ।
दुर्गम तथा हिमाली भेगका नागरिकलाई सहज रूपमा विशेषज्ञ चिकित्सकको परामर्श उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस सेवाबाट हालसम्म तीन हजार ६६ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
सामाजिक विकास मन्त्रालय र छायाँ नेपालद्वारा आयोजित टेलिमेडिसिनसम्बन्धी क्षमता अभिवृद्धि समिक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो।
कार्यक्रममा छायाँ नेपालका सुचना तथा प्रविधि अधिकृत दिपक रोकायका अनुसार कर्णाली प्रदेशका पाँच जिल्लाका १५ वटा स्वास्थ्य संस्थामार्फत टेलिमेडिसिन सेवा सञ्चालन भइरहेको छ। उनले यस सेवाबाट सबैभन्दा बढी लाभ डोल्पाका ९५४ जनाले लिएका बताए।
यस्तै, हुम्लाका ६५७, जाजरकोटका ५८६, कालिकोटका ५०९ र मुगुका ३८० जना सेवाग्राही रहेका छन्। यी पाँच जिल्लाबाट मात्रै हालसम्म जम्मा तीन हजार ६६ जनाले टेलिमेडिसिनमार्फत विशेषज्ञ चिकित्सकसँग परामर्श तथा उपचार सेवा प्राप्त गरेका उनले जानकारी दिए।
कार्यक्रममा छायाँ नेपालका प्रदेश प्रबन्धक मीनबहादुर रावलले कर्णालीका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न टेलिमेडिसिन महत्वपूर्ण माध्यम बनेको बताए। उनले कर्णाली प्रदेश सरकारसँग सहकार्य गर्दै सेवा सञ्चालनलाई प्रभावकारी बनाउन विभिन्न प्राविधिक तथा व्यवस्थापकीय सहयोग गर्दै आएको जानकारी दिए।
उनका अनुसार कर्णाली प्रदेश सरकारले सन् २०२० देखि टेलिमेडिसिन सेवा सुरु गरेको भए पनि प्रारम्भिक चरणमा आवश्यक जनशक्ति, प्राविधिक व्यवस्थापन र नियमित समन्वयको अभावका कारण सेवा अपेक्षाअनुसार प्रभावकारी हुन सकेको थिएन। जसका कारण विनियोजित बजेटसमेत पूर्ण रूपमा खर्च हुन सकेको थिएन।
त्यसपछि छायाँ नेपालले प्रदेश सरकारसँग सहकार्य गरी स्वास्थ्यकर्मीलाई तालिम, आवश्यक उपकरण व्यवस्थापन, इन्टरनेट पहुँच सुधार तथा सेवा सञ्चालनमा सहजीकरण गर्दै आएको र त्यसपछि सेवाको प्रभावकारिता उल्लेखनीय रूपमा बढेको उनले बताए।
रावलले अहिले सञ्चालनमा रहेका १५ वटा स्वास्थ्य संस्थाबाट नियमित रूपमा बिरामीले विशेषज्ञ चिकित्सकसँग भिडियो तथा अनलाइन माध्यमबाट परामर्श लिइरहेको जानकारी दिँदै आगामी दिनमा प्रदेशका अन्य दुर्गम स्वास्थ्य संस्थामा समेत सेवा विस्तार गर्ने योजना रहेको बताए।
उनका अनुसार सेवा विस्तारसँगै अझ धेरै नागरिकले जिल्ला वा प्रदेश बाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले टेलिमेडिसिन सेवा दुर्गम क्षेत्रका नागरिकका लागि निकै उपयोगी सावित भएको बताए। उनले उपचार तथा नियमित फलोअपका लागि सुर्खेत, नेपालगञ्ज वा अन्य शहरसम्म धाउनुपर्ने बाध्यता घटेको उल्लेख गर्दै यसले बिरामीको समय, श्रम र आर्थिक भार उल्लेखनीय रुपमा कम गरेको उनको भनाइ छ।
उनले भने, ‘टेलिमेडिसिन सेवा प्रभावकारी रपमा सञ्चालन हुन सकेमा दुर्गम क्षेत्रका नागरिकले आफ्नै स्थानीय स्वास्थ्य संस्थाबाट विशेषज्ञ चिकित्सकको परामर्श पाउन सक्छन्। यसले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै उपचारमा हुने ढिलाइसमेत कम गर्छ।’
शाहीले कार्यक्रमलाई दीर्घकालीन र प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीय तह, स्वास्थ्य संस्था तथा विकास साझेदारबीच निरन्तर समन्वय आवश्यक रहेको बताए। उनले अझै पनि टेलिमेडिसिनका बारेमा दुरदराजका नागरिकले थाह नभएको भन्दै यसबारे जनचेतना फैलाउन पनि आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा सहभागीले टेलिमेडिसिन सेवा विस्तारसँगै इन्टरनेटको गुणस्तर सुधार, आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन तथा सेवाप्रति जनचेतना बढाउन सके टेलिमेडिसिन कर्णालीको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे।



