फाइल तस्बिर
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता फैलाउने र कानुनी राज्यको उल्लंघन गर्ने कामको नेतृत्व स्वयं सरकारले गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा पार्टीको नयाँ वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले सरकारको आलोचना गर्ने वा विरोधमा उत्रिने युवाहरूलाई धम्की र त्रास देखाउने गरिएको आरोप लगाए।
अध्यक्ष ओलीले सरकारले विरोध दबाउनका लागि घर, कार्यालय र सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेस्र्याएर अवरोध सिर्जना गर्ने गरेको दाबी गरे।
उनले शान्तिपूर्ण रूपमा असहमति राख्न वा विरोध जनाउन पाउने नागरिक अधिकारमाथि रोक लगाएको समेत बताए। तानाशाही र फासीवादीबाटो तर्फ सरकार अघि बढ्न खोजेको उनको भनाइ छ।
अध्यक्ष ओलीले संसद् र राज्यका तीनवटै अङ्गहरू हाल कार्यकारीको इच्छाअनुसार चल्न बाध्य पारिएको तर्क गर्दैै बजेट जस्तो महत्वपूर्ण विषयमा समेत मात्र चार घण्टा छलफल गराएर पास गरिनु यसैको उदाहरण भएको धारणा राखे।
अध्यक्ष ओलीले एमाले कुनै अरूको सहारामा मात्र उभिने ‘लहरो’ नभई आफ्नै बलमा उम्रेको, हुर्केको र अनेकौँ आँधीहुरी, तुफान तथा बाढीको सामना गरेर दह्रो बनेको एक स्वतन्त्र वृक्ष भएको बताए।
एमालेको आफ्नै स्वतन्त्र हैसियत रहेकाले जस्तोसुकै परिस्थितिको सामना गर्दै त्यसलाई पराजित गर्ने सामथ्र्य राख्ने उल्लेख गरे।


