काठमाडौँ- निर्देशक सञ्जय राईले नेपाली फिल्म क्षेत्रमा निर्देशनको यात्रा ‘एक्का मिस्सी बादशाह’ मार्फत सुरु गर्ने भएका छन्। आफ्नो जन्मदिनको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले फिल्मको औपचारिक घोषणा गर्दै कलाकार र प्राविधिक टोली सार्वजनिक गरेका हुन्।
बेलायतमा बस्दै आएका राई लामो समयदेखि फिल्म निर्माण र निर्देशनमा रुचि राख्दै आएका थिए। विदेश बसाइका क्रममा पनि फिल्म निर्माणप्रतिको आफ्नो लगावलाई निरन्तरता दिएका उनले यही फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्।
मोहिनीदेवी राईको प्रस्तुतिमा बन्ने फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहनेछिन्। उनले फिल्ममा ‘आश’ नामक पात्रको भूमिका निर्वाह गर्नेछिन्। निर्माण टिमले उनको बोल्ड लुक्स सार्वजनिक गर्दै पात्रको परिचय पनि गराएको छ।
केही समयपछि नयाँ फिल्ममा देखिन लागेकी साम्राज्ञीले आफूलाई मनपर्ने पात्र नपाएकै कारण फिल्मबाट केही समय टाढा रहेको बताइन्। ‘एक्का मिस्सी बादशाह’ मा भने फरक र चुनौतीपूर्ण भूमिका पाएकाले आफू काम गर्न तयार भएको उनले बताइन्।

‘मलाई यो फिल्म र यसको टिमसँग जोडिन पाउँदा निकै खुसी लागेको छ। सुरुमा केही आनाकानी गरेकी थिएँ, तर निर्देशकले पात्रबारे विस्तृत रूपमा बुझाएपछि मेरो सोच परिवर्तन भयो,’ उनले भनिन्।
उनका अनुसार फिल्ममा आफ्नो पात्र साहसी, निडर, बोल्ड र प्रचलित भूमिकाभन्दा फरक प्रकृतिको छ। ‘स्क्रिप्ट पढेपछि म निकै उत्साहित भएँ। निर्देशकले मेरो सोचसँग मेल खाने पात्र सिर्जना गर्नुभएको रहेछ,’ साम्राज्ञीले थपिन्।
फिल्मको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ। निर्देशक राईका अनुसार फिल्म युवापुस्ताको जीवन, प्रेम, मित्रता, सामाजिक सञ्जालको प्रभाव तथा परिवार र समाजका अपेक्षाबीचको संघर्षमा केन्द्रित हुनेछ।
फिल्ममा सुदीप्ता कार्यकारी निर्माता, एलोन गुरुङ लाइन प्रोड्युसर र सुपथ श्रेष्ठ प्रोजेक्ट सुपरभाइजर छन्। नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्ममा निकेश कार्की र रोमन बज्राचार्य संगीत निर्माता, आशिम रानाभाट स्टाइलिस्ट तथा सुनिल शिवभक्ति सम्पादक रहेका छन्। फिल्मको छायांकन आगामी फागुनदेखि सुरु गर्ने तयारी गरिएको छ।
कार्यक्रममा कार्यकारी निर्माता सुदीप्ताले ‘एक्का मिस्सी बादशाह’ आफ्नो लागि विशेष परियोजना भएको बताइन्। निर्माण टिमले फिल्मका दुई मुख्य पुरुष पात्र ‘क्रिस’ र ‘अर्जुन’ का लागि कलाकार छनोट प्रक्रिया खुला गरेको जनाएको छ। निर्देशक राईका अनुसार यी भूमिकाका लागि अडिसन आह्वान गरिएको छ भने अन्य कलाकार र थप विवरण आगामी दिनमा सार्वजनिक गरिनेछ।


