टेलिफोनका ग्राहक तीन करोड ३१ लाख

हिमाल प्रेस २५ असार २०८३ १६:०१ | Thursday, July 9, 2026
6
SHARES
टेलिफोनका ग्राहक तीन करोड ३१ लाख

काठमाडौँ- नेपालमा कुल टेलिफोनका ग्राहक तीन करोड ३१ लाख पुगेको छ। जनगणना २०७८ अनुसार देशको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ छ। एकै व्यक्तिले एकभन्दा बढी सिमकार्ड प्रयोग गरेका कारण सदस्यता संख्या धेरै देखिएको नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

जेठ महिनाको व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार देशमा भ्वाइस टेलिफोन सेवामा जीएसएम प्रयोगकर्ताको वर्चस्व छ। नेपाल टेलिकम एक करोड ५७ लाख ३० हजार जीएसएम ग्राहकसहित अग्रस्थानमा रहेको छ भने एनसेलका एक करोड ४१ लाख ग्राहक छन्। यसबाहेक नेपाल टेलिकमका ३० हजार ५६४ फिक्स्ड पीएसटीएन ग्राहक र तीन लाख ८६ हजार एक सय २२ एफटीटीएच भ्वाइस प्रयोगकर्ता छन्।

जीएमपीसीएस प्रविधिमा आधारित पोर्टेबल स्याटेलाइट सेवा सञ्चालन गर्ने अन्य सेवा प्रदायकमध्ये कन्स्टेलेसन प्रालिका एक हजार एक सय ७३ र १४ टेक्नोलोजीका १६ ग्राहक रहेका छन्।

बजार हिस्साका आधारमा नेपाल टेलिकमले भ्वाइस टेलिफोन बजारको ५३.४६ प्रतिशत हिस्सा ओगटेको छ भने एनसेलको हिस्सा ४६.५३ प्रतिशत छ।

प्रतिवेदनअनुसार मोबाइल सेवाको पहुँच (पेनिट्रेसन) १०२.५२ प्रतिशत पुगेको छ, जसले धेरै प्रयोगकर्ताले एकभन्दा बढी सिम प्रयोग गरिरहेको संकेत गर्छ। यसको विपरीत, फिक्स्ड टेलिफोनको पहुँच भने १.४२ प्रतिशतमा सीमित छ।

देशभर ब्रडब्यान्ड इन्टरनेट सदस्यता संख्या तीन करोड ११ लाख ३० हजार पुगेको छ। कुल ग्राहकमध्ये दुई करोड ७६ लाख २० हजार अर्थात् ८८.७३ प्रतिशतले मोबाइल ब्रडब्यान्ड सेवा प्रयोग गरिरहेका छन्।

फिक्स्ड (तारयुक्त) ब्रडब्यान्ड प्रयोगकर्ताको संख्या ३४ लाख ७० हजार (११.१७ प्रतिशत) रहेको छ भने फिक्स्ड वायरलेस ब्रडब्यान्ड प्रयोगकर्ता ३१ हजार तीन सय ४९ छन्।

मोबाइल ब्रडब्यान्ड बजारमा नेपाल टेलिकम ५५.४१ प्रतिशत बजार हिस्सासहित अग्रस्थानमा छ। देशको अर्को मोबाइल सेवा प्रदायक एनसेलको हिस्सा ४४.५९ प्रतिशत छ।

मोबाइल ब्रडब्यान्डको पहुँच जनसंख्याको ९४.७ प्रतिशत पुगेको छ भने फिक्स्ड ब्रडब्यान्डको पहुँच ५२.११ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

सरकारले एक सयभन्दा बढी इन्टरनेट सेवा प्रदायक (आईएसपी) लाई अनुमति दिए पनि फिक्स्ड ब्रडब्यान्ड बजारको तीन चौथाइभन्दा बढी हिस्सा ६ कम्पनीको नियन्त्रणमा छ।
ती कम्पनीहरूमा वर्ल्डलिंक ३०.८२ प्रतिशत बजार हिस्सासहित अग्रस्थानमा छ। त्यसपछि नेपाल टेलिकम (१०.९७ प्रतिशत), डिसहोम (१०.५८ प्रतिशत), भायानेट (१०.५४ प्रतिशत), क्लासिक टेक (८.२६ प्रतिशत) र सुबिसु (७.६१ प्रतिशत) छन्।

प्रकाशित: २५ असार २०८३ १६:०१ | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast