‘असफलता लुकाउन राज्य अराजकताको प्रायोजक बन्यो’

हिमाल प्रेस २९ असार २०८३ १९:०५ | Monday, July 13, 2026
8
SHARES
‘असफलता लुकाउन राज्य अराजकताको प्रायोजक बन्यो’ फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो असफलता लुकाउन राज्य अराजकताको प्रायोजक बनेको आरोप लगाएका छन्।

केही सञ्चारमाध्यमका गेट तथा पार्टी सभापति गगन थापाको घरअगाडि गाडी तेस्र्याएर राखेको घटनाको सन्दर्भमा पौडेलले यस्तो बताएका हुन्।

महामन्त्री पौडेलले राज्यको कमीकमजोरी औँल्याउने मिडियासँग प्रतिशोध लिन नियोजित रुपमा गाडी तेस्र्याएर राख्ने काम गरिएको उल्लेख गरेका छन्।

‘मिडियाले राज्यका कमीकमजोरी औँल्याएर समाचार लेखेकै वा प्रश्न सोधेकै भरमा, राज्य आफैँ नागरिक र प्रेससँग सिधै प्रतिशोध लिन यसरी सडकमा उत्रिनु सत्ताको चरम दुरुपयोग र विधिको शासनमाथिको भद्दा मजाक हो,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्।

राज्यको दायित्व समस्याको समाधान खोज्ने रहेको भन्दै उनले असफलता लुकाउन अराजकताको प्रायोजक बन्न नहुने जिकिर गरेका छन्।

उनले भनेका छन्,‘राज्यको दायित्व समस्याको दीर्घकालीन, व्यावहारिक र न्यायोचित समाधान खोज्ने हो, आफ्ना असफलता लुकाउन अराजकताको प्रायोजक बन्ने होइन।’

स्वतन्त्र प्रेस र लोकतान्त्रिक शक्तिहरुलाई यस्ता प्रायोजित अवरोध र हर्कतले तर्साउन सकिने भ्रम कसैले पाल्न नहुने उनको भनाइ छ।

पार्किङकै विषयमा राज्यको कठोर र अव्यवहारिक रवैयाका कारण गणेश नेपालीले आत्मदाह गरेको स्मरण गराउँदै उनले यसको जवाफ नदिई सरकार निन्दनीय, अराजक र सस्तो स्टन्टमा उत्रिएको उल्लेख गरेका छन्।

‘उक्त दुःखद घटनापछि नागरिक र सञ्चारमाध्यमले उठाएका जायज प्रश्नहरुको जवाफ दिनुको सट्टा, ‘ल हेर, पार्किङ व्यवस्थित नहुँदा कस्तो हुन्छ’ भन्ने शैलीमा राज्य संयन्त्रकै आडमा आज जुन स्तरको स्टन्ट प्रदर्शन गरियो, यसले सरकारको नियत र कार्यशैली दुवै उदाङ्गो पारेको छ,’ पौडेलले भनेका छन्।

उनले राज्यशक्तिको दुरुपयोग गरेर गरिएको यस्तो हर्कतको सम्बन्धित निकायले तत्काल जवाफ दिनुपर्ने बताएका छन्।

प्रकाशित: २९ असार २०८३ १९:०५ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast