बालेन सरकारमाथि रास्वपा सांसदकै प्रहार : ‘सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ’

हिमाल प्रेस २२ असार २०८३ २२:५७ | Monday, July 6, 2026
6
SHARES
बालेन सरकारमाथि रास्वपा सांसदकै प्रहार : ‘सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद क्रान्तिशिखा धितालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा मानवीय संवेदनशीलता र उचित व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टि जनाएकी छन्।

सरकारले विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने अभियान सञ्चालन गरेपछि विस्थापित परिवारको पुनःस्थापना र वैकल्पिक बसोबासको व्यवस्था हुन नसकेको भन्दै आलोचना भइरहेका बेला धितालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

धितालले सुकुम्बासीहरूको व्यवस्थापन आवश्यक भए पनि सरकारले त्यसलाई पर्याप्त योजना, संवेदनशीलता र जिम्मेवारीका साथ अघि बढाउन नसकेको टिप्पणी गरेकी छन्।

उनले लेखेकी छन्, ‘आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ। सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्रअनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ?’

उनले सुकुम्बासी व्यवस्थापन मानवीय र योजनाबद्ध ढंगले हुनुपर्नेमा त्यसो हुन नसकेको बताउँदै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएकी छन्।

धितालले भनेकी छन्, ‘जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन। यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो।’

विस्थापित परिवारको पुनःस्थापना र वैकल्पिक आवासको सुनिश्चितता नगरी बस्ती हटाइएको भन्दै मानवअधिकारकर्मी, नागरिक समाज तथा विभिन्न राजनीतिक दलबाट आलोचना हुँदै आएको छ।

प्रकाशित: २२ असार २०८३ २२:५७ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast