धार्मिक अगुवासँग रास्वपा सभापति लामिछानेले गरे छलफल

हिमाल प्रेस १५ साउन २०८३ १६:०६ | Friday, July 31, 2026
6
SHARES
धार्मिक अगुवासँग रास्वपा सभापति लामिछानेले गरे छलफल रवि लामिछाने।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल गरेका छन्।

सामाजिक सद्भाव कायम राख्नका लागि सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालका साथै मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरेका हुन्।

छलफलका क्रममा सभापति लामिछानेले सामाजिक सद्भाव कायम राख्नका लागि सबैपक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

छलफलपछि धार्मिक नेताहरुले संयुक्त अपिल जारी गर्दै हात मिलाएर एकताको सन्देश दिएका छन्।

विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारीले नेपाल धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान राष्ट्रिय एकता र पहिचानका आधार भएकाले कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्न हुँदैन भन्नेमा स्पष्ट रहेको बताए।

सुनसरी, सिरहा तथा मधेश प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी कानूनविपरीतका कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्दै पीडित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरिएको उनले बताए।

त्यस्तै मौलाना मोहम्मद खालिद सिद्दिकीले कुनै पनि धर्मले अर्को धर्म मान्नेलाई विभेद र उचनिच नगर्ने तथ्य स्वीकार्दै सामाजिक एकतालाई बलियो बनाउनु सामूहिक जिम्मेवारी भएको बताए।

सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्‍याउन भइरहेका विभिन्न क्रियाकलापहरुप्रति सचेत रहन अपिल गरिएको उनले बताए।

साथै उनीहरुले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय योगदान दिन अपिल समेत गरेका छन् भने शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन तथा कुनै पनि प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वानसमेत गरेका छन्।

प्रकाशित: १५ साउन २०८३ १६:०६ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast