रवि लामिछाने। फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसमा हालै भएको घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गर्न, दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडितलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
पार्टी सभापति रवि लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।’
विज्ञप्तिमा घटनाले सिर्जना गरेको तनावपूर्ण अवस्थाप्रति पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।
रास्वपाले घटनामा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने धारणा राखेको छ।
यसैगरी लामिछानेले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भावलाई कायम राख्न सबै पक्षलाई संयमता अपनाउन तथा साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा अफवाह र उत्तेजनाबाट टाढा रहन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला पक्षलाई अपिल गरिएको छ।
साथै, संवेदनशील परिस्थितिमा शान्ति–सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षा गर्न र अवस्था सामान्य बनाउन सरकार तथा स्थानीय प्रशासनसँग पार्टी निरन्तर सहजीकरणमा रहेको उल्लेख गरिएको छ।
पार्टीले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सकारात्मक भूमिका खेल्न तयार रहेको जनाएको छ। साथै, घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गर्दै रास्वपाका स्थानीय समिति तथा सम्पूर्ण कार्यकर्तालाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।
आइतबार राति देवानगन्ज–३ कप्तानगन्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर ९ जना गम्भीर घाइते भएका छन् भने १४ जना प्रहरी पनि घाइते भएका थिए।
घटनापछि सोमबार सुनसरीको दक्षिणी क्षेत्रमा दिनभर कर्फ्यु लगाइएको थियो। घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरी अनुसन्धान सुरु गरेको छ। यसैगरी गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतलाई अन्यत्र सरुवा गरेको छ। मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई खटाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक(एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ल खटाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि मंगलबार पनि जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजदेखि इटहरीको पकलीचोकसम्म कर्फ्यु आदेश जारी गरेको छ। सुनसरी घटनालाई लिएर सरकार र प्रहरी प्रशासनको आलोचना भइरहेको छ।


