रमेशबाबु भट्टराई
काठमाडौँ- शिक्षक, शैक्षिक अभियन्ता तथा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराई पछिल्लो समय शिक्षा सुधार, शिक्षक अधिकार र शिक्षण पेसाको गरिमा संरक्षणमा निरन्तर सक्रिय देखिएका छन्।
शिक्षा नीति, शिक्षकको सेवासुविधा, प्रोत्साहन भत्ता, सरुवा व्यवस्था तथा शिक्षक पेसाको सामाजिक सम्मानका विषयमा निरन्तर आवाज उठाउँदै आएका भट्टराई पछिल्लो समय शिक्षा क्षेत्रका सक्रिय अभियन्ताका रूपमा चिनिएका हुन्।
शिक्षा नियमावली संशोधनदेखि शिक्षकको प्रोत्साहन भत्ता र शिक्षक पेसाको सम्मानसँग जोडिएका विषयमा उनले सरकारी निकायसँग पहल गर्दै आएका छन्।
हालै उनले शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्रीका सल्लाहकारको अगुवाइमा भएको छलफलमा सहभागिता जनाउँदै शिक्षा नियमावलीको दशौं संशोधनले पारेको प्रभाव र शिक्षाका समसामयिक विषयमा धारणा राखेका थिए।
छलफलमा शिक्षा नियमावलीको एघारौं संशोधन दुई महिनाभित्र ल्याउने तथा शिक्षा ऐन सम्भवतः हिउँदे अधिवेशनसम्म संसदमा प्रस्तुत गर्ने प्रतिबद्धता सरकारी पक्षबाट व्यक्त भएको जानकारी दिइएको छ। त्यसपछि उनले मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटासँग पनि थप छलफल गरेका थिए।
भट्टराईले शिक्षा नियमावलीको दशौं संशोधनमा नवप्रवेशी शिक्षकको सरुवा प्रक्रिया जटिल बनाइएको भन्दै असन्तुष्टि जनाएका छन्। उनका अनुसार परीक्षाकाल पूरा भएपछि एक वर्षमै सरुवाका लागि योग्य हुने व्यवस्था गर्नुपर्ने र शिक्षकको ज्येष्ठताको पनि सम्मान गरिनुपर्ने आवश्यकता छ।
उनले शिक्षामन्त्रीको सार्वजनिक अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गर्दै शिक्षकमैत्री नीति र व्यवहार आवश्यक रहेको बताएका छन्।
शिक्षकलाई १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने विषयमा पनि भट्टराईले सक्रिय पहल गरेका छन्।
महालेखा नियन्त्रक कार्यालयले जारी गरेको बजेट कार्यान्वयनसम्बन्धी निर्देशनमा सामुदायिक विद्यालयका शिक्षकको नाम उल्लेख नभएपछि उनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सिंहदरबारस्थित अर्थ मन्त्रालयमा प्रत्यक्ष भेट गरी ध्यानाकर्षण गराएका थिए।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले बजेट वक्तव्यअनुसार शिक्षकले पनि १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पाउने सुनिश्चित गर्ने आशय व्यक्त गरेको भट्टराईले बताएका छन्।
यसअघि भट्टराईले नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रोमोशनल गीत ‘ताराबाजी लै लै’ मा शिक्षक समुदायको गरिमा र शिक्षण पेसालाई नकारात्मक ढंगले चित्रण गरिएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिवलाई ध्यानाकर्षणपत्र बुझाएका थिए। उनले फिल्म विकास बोर्डमा समेत औपचारिक उजुरी दिने तयारी गरेका थिए।
शिक्षक समुदायको व्यापक विरोधपछि उक्त प्रोमोशनल गीत युट्युबबाट हटाइएको थियो। यस विषयमा नेपाल शिक्षक महासंघले पनि सार्वजनिक रूपमा आपत्ति जनाउँदै सामग्री सच्याउन तथा आपत्तिजनक अंश हटाउन माग गरेको थियो।
महासंघले सामग्री यथावत् प्रसारण वा प्रदर्शन गरिए त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी निर्माता र सम्बन्धित पक्षले लिनुपर्ने चेतावनीसमेत दिएको थियो।


