नयाँदिल्ली- भारतमा प्रश्नपत्र बाहिरिएको प्रकरणलाई लिएर आन्दोलन चर्किरहेका बेला विपक्षी दलहरूले बिहीबार साँझ राजधानी नयाँदिल्लीमा प्रदर्शनलाई थप तीव्र बनाएका छन्। कांग्रेस नेता राहुल गान्धीसहित विपक्षी गठबन्धन ‘इन्डिया’का करिब १०० सांसद ३० जनवरी मार्गस्थित गान्धी स्मृतिस्थल पुगेका थिए।
उनीहरूले प्रश्नपत्र बाहिरिएपछि ज्यान गुमाएका विद्यार्थी तथा आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीहरूको सम्झनामा प्रार्थना गरेका थिए।
गान्धी स्मृतिस्थलमा सम्बोधन गर्दै राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतमा लोकतन्त्रको हत्या गरिरहेको आरोप लगाए। उनले महात्मा गान्धीको हत्या यही स्थानमा भएको स्मरण गर्दै अहिले लोकतान्त्रिक मूल्यमान्यतामाथि आक्रमण भइरहेको दाबी गरे। राहुलले भने,‘मोदी सरकारले भारतमा लोकतन्त्रको हत्या गरिरहेको छ। विपक्षले यसलाई स्वीकार गर्ने छैन।’
इन्डिया गेट जान नदिएको आरोप
यसअघि राहुल गान्धी निवासमा विपक्षी दलका शीर्ष नेताहरूको बैठक बसेको थियो। बैठकपछि सांसदहरू इन्डिया गेट पुगेर प्रदर्शन गर्ने तयारीमा थिए। तर अनुमति नदिइएको भन्दै उनीहरूले त्यसपछि गान्धी स्मृतितर्फ जाने निर्णय गरेका थिए।
राहुलले आफूहरूलाई बाटोमै रोकिएको, बसहरू अवरुद्ध गरिएको र सुरक्षा निकायले अगाडि बढ्न नदिएको आरोप लगाए। केही समयको अवरोधपछि भने विपक्षी सांसद, कांग्रेस नेता तथा कार्यकर्ता गान्धी स्मृतिस्थल पुग्न सफल भएका थिए।
प्रियंका गान्धीको सरकारमाथि आरोप
कांग्रेस सांसद प्रियंका गान्धीले सरकारले आफ्नो अधिकार मागिरहेका विद्यार्थीमाथि बल प्रयोग गरेको आरोप लगाइन्।उनले महात्मा गान्धीले किसान र गरिबको अधिकारका लागि अहिंसात्मक आन्दोलन गरेको स्मरण गर्दै अहिले त्यही देशमा आफ्ना अधिकारको माग गर्ने विद्यार्थीहरूलाई कुटपिट गरिएको बताइन्।
उनका अनुसार लोकतन्त्रको रक्षा गर्न धेरैले बलिदान दिएका थिए तर अहिले लोकतान्त्रिक अधिकार नै कमजोर बनाइँदै गएको छ।
चिदम्बरम र रेणुका चौधरीको प्रतिक्रिया
कांग्रेस सांसद पी. चिदम्बरमले आफूहरू विद्यार्थी, युवा र उनीहरूका अभिभावकको पक्षमा रहेको बताए।
त्यस्तै सांसद रेणुका चौधरीले निहत्था विद्यार्थीमाथि भएको बल प्रयोगको आलोचना गर्दै यसको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिइन्।
राहुल निवासमा विपक्षी बैठक
बिहीबार साँझ राहुल गान्धी निवासमा कांग्रेस नेतृ सोनिया गान्धी, पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गे, आरजेडी सांसद मीसा भारती, प्रमोद तिवारीलगायत विपक्षी नेताहरूको बैठक बसेको थियो।
बैठकपछि विपक्षी गठबन्धनका सांसदहरूले गान्धी स्मृतिस्थल जाने निर्णय गरेका थिए। यस क्रममा राहुलले सामाजिक सञ्जाल एक्समार्फत आफूहरू शान्तिपूर्ण रूपमा गान्धी स्मृतिमा पुगेर प्रश्नपत्र बाहिरिएका कारण ज्यान गुमाएका विद्यार्थीलाई श्रद्धाञ्जली अर्पण गर्न तथा घाइते विद्यार्थीप्रति ऐक्यबद्धता जनाउन लागेको जानकारी दिएका थिए।
जन्तरमन्तरमा आन्दोलन जारी
यसैबीच, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँदिल्लीको जन्तरमन्तरमा विद्यार्थीहरूको आन्दोलन निरन्तर जारी छ। सरकारले आन्दोलन अन्त्य गर्न गरेको आग्रह र आश्वासन आन्दोलनकारीहरूले अस्वीकार गरेका छन्। प्रधानले राजीनामा दिइसकेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले भने युवाको भविष्य सरकारको सर्वोच्च प्राथमिकता रहेको बताउँदै प्रश्नपत्र बाहिरिएको घटनामा दोषीलाई छिटो कारबाही गर्न फास्टट्र्याक अदालत गठन गर्ने निर्णय भएको घोषणा गरेका छन्। दोषी जोसुकै भए पनि कानुनी कारबाहीबाट नउम्किने उनको भनाइ छ।
दिल्लीमा कडा सुरक्षा व्यवस्था
आन्दोलनलाई मध्यनजर गर्दै दिल्ली मेट्रोले राजीव चौक, मण्डी हाउस र सेन्ट्रल सेक्रेटरियटलगायतका प्रमुख स्टेशनमा यात्रु प्रवेश बन्द गरी केवल इन्टरचेन्ज सेवा सञ्चालन गरेको थियो।
यसैबीच सामाजिक सञ्जालमा दिल्ली प्रहरी आयुक्तलाई राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत विशेष अधिकार दिइएको दाबी फैलिएको थियो। तर दिल्ली प्रहरीले त्यसको खण्डन गर्दै यस्तो अधिकार हरेक तीन तीन महिनामा नियमित रूपमा प्रदान गरिने व्यवस्था रहेको बताएको छ।

