थारु भाषा संस्कृतिको संरक्षणमा सक्रिय इन्द्र चौधरीलाई प्रज्ञा सम्मान

हिमाल प्रेस ३० असार २०८३ ११:३५ | Tuesday, July 14, 2026
12
SHARES
थारु भाषा संस्कृतिको संरक्षणमा सक्रिय इन्द्र चौधरीलाई प्रज्ञा सम्मान

काठमाडौँ- थारु भाषा तथा लोकसंस्कृतिका क्षेत्रमा अध्ययन, अनुसन्धान गर्दै आएका इन्द्र चौधरी पुरस्कृत तथा सम्मानित भएका छन्।

सोमबार २१३औं भानुजयन्तीको अवसरमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रादेशिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनलाई उक्त सम्मान गरिएको हो।

प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको उक्त सम्मान तथा पुरस्कार यस वर्ष चौधरीलाई प्रदान गरेको हो। प्रतिष्ठानका अनुसार नेपाली तथा थारु भाषा र संस्कृतिको क्षेत्रमा समर्पित भई योगदान गरेको उच्च मूल्यांकन गरी कदरस्वरुप संस्कृति विधातर्फ नगद रु.पचास हजारसहित स्रष्टा सम्मान तथा पुरस्कार २०८२ बाट उनलाई सम्मान गरिएको हो।

सम्मान तथा पुरस्कार पाएका चौधरीले यो पुरस्कारले अझै धेरै हौसला प्रदान गरेको बताए। उनले भने,‘यो मेरो लागि पुरस्कार मात्र होइन आगामी दिनमा अझै थारु भाषा, साहित्य तथा संस्कृतिको उजागरका हौसला हो,’उनले थपे,‘म सुदूरपश्चिमका लोकसंस्कृति तथा भाषा साहित्यलाई प्रबद्र्धनमा निरन्तर लागिरहने छु। जसले सुदूरपश्चिमको पहिचान त दिन्छ नै यसले सिंगो नेपाली साहित्यलाई पनि समृद्ध बनाउनमा पक्कै पनि एक इँटा भए पनि थप्नेछ भन्ने विश्वास लिएको छु।’

चौधरीसँगै समारोहमा भाषासाहित्यतर्फ मीना पन्त, संगीतर्फ ध्वजबहादुर महरा र ललितकलातर्फ योगेन्द्र बम नगदसहित सम्मानित तथा पुरस्कृत भएका थिए।

कार्यक्रममा शिक्षा एवं साहित्य क्षेत्रमा विशिष्ट योगदान गरेवापत् सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार डा.हेमराज पन्त र प्रा.डा.टेकराज पन्त र उपप्राध्यापक डा.दीपकचन्द्र भट्ट अभिनन्दि भए।

त्यसैगरी, कार्यक्रममा सम्मानित भएका अन्य स्रष्टामा सौगात ओझा, पूर्णबहादुर मल्ल, कमल भण्डारी संघर्ष र गुरुदास विश्वकर्मा रहेका थिए। यो सँगै कार्यक्रममा दिननाथ बरालका दुई कृति पनि लोकर्पण भएका थिए।

बटुकहरुद्वारा स्वस्तिवाचन गरी प्रारम्भ भएको कार्यक्रमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना प्रमुख अतिथिका रूपमा रहेका थिए भने आर्थिक मामिलामन्त्री विक्रमसिंह धामी र सामाजिक विकास राज्यमन्त्री मधु भारती विशिष्ट अतिथिको रूपमा रहेका थिए।

प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालको अध्यतामा सम्पन्न कार्यक्रममा उपकुलपति सरस्वती दाहालले कार्यक्रममा स्वागत मन्तव्य दिएकी थिइन् भने प्रेमबहादुर चन्दले कार्यक्रम सञ्चालन गरका थिए।

प्रकाशित: ३० असार २०८३ ११:३५ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast