कमल पुलको बारेमा कवि सम्मेलन

हिमाल प्रेस २० असार २०८३ १३:०९ | Saturday, July 4, 2026
2
SHARE
कमल पुलको बारेमा कवि सम्मेलन

काठमाडौँ– राणाकालदेखि नै निर्माणाधीन अवस्थामा रहेको तराई–मधेसको मेरुदण्ड हुलाकी सडक र त्यसमा पर्ने पुलहरूको जीर्ण अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउन सिराहामा राष्ट्रिय बहुभाषिक कवि सम्मेलनको आयोजना गरिने भएको छ ।

हुलाकी सडक सङ्घर्ष समितिको अगुवाइमा आगामी साउन २ गते शनिबार सिरहाको बरियारपट्टीस्थित श्री जनता माध्यमिक विद्यालयमा सो सम्मेलन हुन लागेको हो । विगत १० वर्षदेखि सिराहावासीले धनुषा–सिराहा जोड्ने कमला नदीमा पुल निर्माणका लागि शान्तिपूर्ण जुलुस, सडक जाम, घेराउ, विज्ञप्ति र आमरण अनसनसम्मका सङ्घर्षका कार्यक्रमहरू गर्दै आएका छन् । तर त्यो पुल अझै निर्माण हुन सकेको छैन ।

निर्माण भएको पुल भासिएपछि त्यसलाई पुनः निर्माण गर्न सिराहा र धनुषाका जनताले अबाज उठाउँदै आएका छन् । सरकारले पनि आश्वासन दिँदै आइरहेको छ । तर पुल अझै निर्माण नभएको हुलाकी सडक सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले बताए ।

कमला पुल निर्माणका लागि दबाब दिन यो कवि सम्मेलनको आयोजन गरिएको बताउँदै उनले यो कवि सम्मेलनमा देशैभरका कविलाई आह्वान गरिएको छ ।

कमला नदीको मात्र नभई झापाको कन्काई नदीमा १५ वर्षदेखि बनिरहेको पुलको अवस्था पनि उस्तै छ । यस्तै सर्लाही र रौतहट जोड्ने बागमती पुल तथा चितवन र नवलपरासी जोड्ने नारायणी नदीको पुल पनि अझै बन्न सकेको छैन ।

यता सिराहा खण्डमा पर्ने सहजा खोलाको पुल ५ वर्षदेखि अलपत्र अवस्था छ । धनुषा खण्डको अवस्था झनै दयनीय रहेको संयोजक यादवले बताए ।

हुलाकी सडक र यसका पुलहरूको “दशा, दिशा र दुर्दशा’’ लाई मुख्य विषयवस्तु बनाएर आयोजना हुन लागेको यस सम्मेलनमा हुलाकी सडकले छुने झापादेखि कञ्चनपुरसम्मका तराईका १९ वटै जिल्लाका कविहरूलाई लिखित रूपमा निमन्त्रणा गरिएको छ । अन्य जिल्लाका कविहरूलाई पनि विभिन्न माध्यमबाट सहभागी हुन आह्वान गरिएको छ ।

सिराहा जिल्लाका हकमा सबै माध्यमिक विद्यालय तथा क्याम्पसहरूलाई पत्राचार गरी आ–आफ्नो शैक्षिक संस्थामा प्रतिस्पर्धा गराएर उत्कृष्ट तीन प्रतिस्पर्धीलाई सहभागी गराउन अनुरोध गरिएको संयोजक यादवले बताए । जसमध्ये विद्यालयबाट एक जनाले मात्र कविता पाठ गर्न पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुने आठ जना विद्यार्थीहरूलाई पुरस्कार र प्रशंसा–पत्र प्रदान गरिनेछ । प्रथम पुरस्कार पाँच हजार राखिएको छ भने द्वितीय पुरस्कार तीन हजार, तृतीय पुरस्कार दुई हजार र सान्त्वना पुरस्कार पाँच जनालाई एक हजार प्रति व्यक्ति प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रकाशित: २० असार २०८३ १३:०९ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast