आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसकै हो : गगन थापा

हिमाल प्रेस १५ साउन २०८३ १३:२३ | Friday, July 31, 2026
10
SHARES
आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसकै हो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेश प्रदेशमा देखिएको तनावका बीच शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न पार्टीका जनप्रतिनिधिलाई सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन्।

शुक्रबार कांग्रेसका तर्फबाट निर्वाचित कोशी र मधेश प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिसँग भएको भर्चुअल छलफलमा थापाले कांग्रेस मुलुकको जिम्मेवार राजनीतिक शक्ति भएकाले परिस्थिति सम्हाल्ने दायित्व पनि पार्टीकै काँधमा रहेको बताए।

‘हामी मुख्य शक्ति हौं, हामी अभिभावक हौं र जिम्मेवार शक्ति पनि हौं। आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो,’ थापाले भने।

उनले जनप्रतिनिधिलाई सबै समुदायबीच सहिष्णुता, सद्भाव र विश्वास कायम हुने गरी जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे। परिस्थिति थप जटिल नबनोस् भन्नेमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

सभापति थापाले सामाजिक सञ्जालमा आएका अपुष्ट सूचना वा सामग्रीका आधारमा तत्काल प्रतिक्रिया नदिन पनि आग्रह गरे। कुनै पनि सूचना प्राप्त भएपछि त्यसको सत्यता पुष्टि गरेर मात्र सार्वजनिक धारणा बनाउनुपर्नेमा उनले जोड दिए।

‘राजनीतिक नेतृत्वमा रहेका व्यक्तिले भावनामा बगेर होइन, तथ्य, प्रमाण र विवेकका आधारमा निर्णय र अभिव्यक्ति दिनुपर्छ,’ उनले भने, ‘कुनै विषय आएपछि त्यसलाई पुष्टि गर्ने, बुझ्ने र त्यसपछि मात्रै धारणा बनाउने अभ्यास आवश्यक छ।’

प्रकाशित: १५ साउन २०८३ १३:२३ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast