काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता भएको भन्ने सार्वजनिक चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग सहमति वा सम्झौता नभएको बताए।
उनले केही डिजिटल सञ्चारमाध्यममा प्रकाशित यस्ता दाबीहरू आधारहीन रहेको उल्लेख गर्दै सम्बन्धित सरकारी निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको जानकारी दिए।
उनले भने,‘मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चामा कुनै सत्यता छैन। यस क्षेत्रमा खानी उत्खनन सम्बन्धमा कसैसँग कुनै प्रकारको सहमति वा सम्झौता भएको छैन।’
मन्त्री खनालले नेपालको संविधानको धारा २८९ अन्तर्गत प्राकृतिक स्रोतको उपयोगसम्बन्धी व्यवस्थाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत हुने कुनै पनि सम्झौता सरकारले नगर्ने बताए।
उनका अनुसार मुस्ताङ क्षेत्रमा खानी हुन सक्ने सम्भावनाबारे प्रारम्भिक अध्ययनले सकारात्मक संकेत गरे पनि थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक छ। यस सम्बन्धमा खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रिया अघि बढाउने उनले जानकारी दिए।
यस्तै, राष्ट्रिय सभामा उठेको अर्को प्रश्नको जवाफ दिँदै मन्त्री खनालले प्रतिकूल मौसमका कारण भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लाको आकाशमा प्रवेश गरेको बताए। उनले उक्त घटना नियोजित वा गलत मनसायका साथ नभएको र त्यस क्षेत्रको भौगोलिक अवस्था तथा खराब मौसमका कारण यस्तो भएको बताए।
उनले नेपाली सम्बन्धित अधिकारी र भारतीय पक्षबीच आवश्यक सम्पर्क तथा समन्वय भइरहेको जानकारी दिँदै घटनालाई कूटनीतिक माध्यमबाट व्यवस्थापन गरिएको उल्लेख गरे।
परराष्ट्रमन्त्री खनालले नेपालबाट भारततर्फ हुने सुपारी तथा चिया निर्यातमा देखिएका समस्याको समाधानका लागि सरकारले निरन्तर पहल गरिरहेको पनि बताए।




