हिंसात्मक झडप र त्यसक्रममा भएको मृत्युको जिम्मेवारी लिन सरकारसँग नेकपाको माग

हिमाल प्रेस १४ साउन २०८३ ११:४९ | Thursday, July 30, 2026
4
SHARES
हिंसात्मक झडप र त्यसक्रममा भएको मृत्युको जिम्मेवारी लिन सरकारसँग नेकपाको माग

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक झडप र त्यसक्रममा भएको मृत्युको जिम्मेवारी लिन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका सांसद गोपाल शर्माले सुनसरी घटनालाई लिएर गृहमन्त्रीको कडा आलोचना गरे  ।

सदनमा विशेष समय लिएर बोल्दै सांसद शर्माले सुनसरीको कप्तानगञ्जमा भएको घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको बताए । सो घटनामा ओमप्रकाश मेहताको ज्यान गएको र दर्जनौँ घाइते भएको भन्दै उनले यस्तो संवेदनशील घडीमा पनि सरकार गम्भीर नभएको आरोप लगाए ।

‘गृहमन्त्रीले यो घटनाको जिम्मेवारी लिनुहुन्छ कि अरूलाई दिनुहुन्छ,’ शर्माले प्रश्न गर्दै भने, ‘उहाँ सार्वजनिक रूपमा भन्दै हिँड्नुहुन्छ– कसैलाई यो गृह मन्त्रालय चाहिएको छ भने लैजाऊ । के नेतृत्व भनेको जिम्मेवारीबाट भाग्ने हो ? राज्य अभिभावक बन्नुपर्छ कि पर्दैन ?’
सांसद शर्माले प्रधानमन्त्रीको मौनतामाथि पनि प्रश्न उठाए । ‘यत्रो ठुलो घटना हुँदा पनि प्रधानमन्त्री कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, न सदनलाई जानकारी छ न देशलाई,’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीले विगतमा राज्य संवेदनशील हुनुपर्छ भन्नुहुन्थ्यो, तर आज आफ्नै कार्यकालमा भएको घटनामा उहाँहरू मौन हुनुहुन्छ ।’
सांसद शर्माले गृहमन्त्रीले दिएको ‘मन्त्रालय लैजाऊ’ भन्ने अभिव्यक्ति अराजक भएको टिप्पणी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरे । उनले सो घटनाका सम्बन्धमा प्रधानमन्त्री वा गृहमन्त्रीले तत्काल सदनमा आएर यथार्थ जानकारी गराउनुपर्ने माग समेत राखेका छन् ।
प्रकाशित: १४ साउन २०८३ ११:४९ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast