३९ वर्षीय मेस्सीले आफ्नो छैटौं विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन्। यो उपलब्धि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गिलेर्मो ओचोआसँग संयुक्त रूपमा कीर्तिमानी हो। उनले हालसम्म आठ गोल गरेका छन् भने तीन असिस्ट दिएका छन्।
मेस्सी फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेसँग गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन्। तर विश्वभरका दर्शकले अहिले देखिरहेका मेस्सी सन् २००३ मा बार्सिलोनाबाट डेब्यु गरेका युवा मेस्सीभन्दा निकै फरक छन्।
अर्जेन्टिनाले बुधबार (बीएसटी राति ८ बजे) एटलान्टा स्टेडियममा हुने सेमिफाइनलमा पुरानो प्रतिद्वन्द्वी इंग्ल्यान्डसँग खेल्नेछ।
धेरै खेलाडी उमेरसँगै कमजोर बन्छन्। तर असाधारण खेलाडीहरूले आफूलाई नयाँ रूपमा ढालेर उत्कृष्टता कायम राख्छन्। क्रिस्टियानो रोनाल्डोले गति घटेपछि आफूलाई पेनाल्टी बक्सभित्रको घातक गोलकर्ता बनाएका थिए।
मेस्सीले भने उमेरसँग सम्झौता गरेका छैनन्। उनले आफ्नो खेललाई यस्तो ढंगले परिवर्तन गरेका छन् कि उनी अझै पनि खेलभन्दा एक कदम अगाडि देखिन्छन्।
यस विश्वकपमा उनले पहिलेभन्दा बढी अवसर सिर्जना गरेका छन् तर कम दौडिएका छन्। उनले ३३ पटक प्रहार गरेका छन् र २१ अवसर सिर्जना गरेका छन्। यी दुवै जोड्दा ५४ हुन्छ। सन् १९८६ मा डिएगो म्याराडोनापछि कुनै खेलाडीले विश्वकपमा बनाएको सर्वाधिक आँकडा हो।
यति मात्र होइन उनले आफूले तय गरेको कुल दूरीमध्ये ४७ प्रतिशत समय हिँडेरै बिताएका छन्। यो प्रतियोगितामा कुनै पनि आउटफिल्ड खेलाडीको सबैभन्दा उच्च अनुपात हो।
मेस्सीले प्रति ९० मिनेट औसत ८.२ किलोमिटर मात्र दौडेका छन्। जारी विश्वकपमा कम्तीमा २० मिनेट खेलेका अर्जेन्टिनाका सबै आउटफिल्ड खेलाडीमध्ये सबैभन्दा कम हो।
उनको स्प्रिन्टको संख्या पनि उल्लेखनीय रूपमा घटेको छ। अहिले उनी प्रति खेल औसत २.७ पटक मात्रै तीव्र गतिमा दौडिन्छन्। चार वर्षअघि यो औसत ५.३ थियो।
इंग्ल्यान्डले यदि मेस्सीलाई रोक्न चाहन्छ भने उसले पोल्यान्डले मात्र गर्न सकेको उपलब्धि दोहोर्याउनुपर्नेछ। मेस्सीका पछिल्ला १५ विश्वकप खेलमध्ये पोल्यान्डविरुद्धको खेल मात्र यस्तो हो। जहाँ उनले न गोल गरेका थिए न असिस्ट। यी १५ खेलमा उनले १६ गोल र सात असिस्ट गरेका छन्।
किन पेप ग्वार्डिओलाले मेस्सीलाई विङबाट केन्द्रतर्फ सारे?
सन् २००३ मा जोसे मोरिन्होको पोर्टोविरुद्धको मैत्रीपूर्ण खेलबाट बार्सिलोनामा डेब्यु गरेका १६ वर्षीय मेस्सी दायाँ विङमा खेल्थे। उनी विपक्षीलाई छक्याउँदै भित्रतिर काटेर गोल गर्ने शैलीका थिए।
रोनाल्डिन्हो त्यसबेला विश्वकै उत्कृष्ट खेलाडी मानिन्थे। उनले पहिलोपटक प्रशिक्षणमा मेस्सीलाई देखेपछि भनेका थिए, ‘ऊ संसारकै उत्कृष्ट खेलाडी बन्नेछ।’
दुई वर्षपछि सन् २००५ मा युवेन्टसविरुद्धको जोआन गाम्पर ट्रफीमा मेस्सीले विश्व फुटबलको ध्यान आफूतर्फ ताने। युवेन्टसका प्रशिक्षक फाबियो कापेल्लो यति प्रभावित भए कि उनले उनलाई अनुबन्ध गर्न प्रयास गरेको चर्चा छ।
२१ वर्ष पुग्दा रोनाल्डिन्होको प्रभाव घट्दै गइरहेको थियो। बार्सिलोनाका प्रशिक्षक फ्रान्क राइकार्डले मेस्सीका बारेमा धारणा राखेका थिए। भनेका थिए, ‘मेस्सी खेलको केन्द्रमै हुनुपर्छ। उसले जति धेरै बल छुन्छ, टोली त्यति नै बलियो हुन्छ।’
सन् २००८ मा पेप ग्वार्डिओला प्रशिक्षक बनेपछि सुरुका महिनाहरूमा मेस्सी दायाँ विङबाटै खेल्थे। त्यो उनको गोलतर्फ जाने निजी बाटो जस्तै थियो। तर ग्वार्डिओलाले पहिलोपटक उनलाई विङबाट हटाउने निर्णय रक्षात्मक कारणले गरे।
मेस्सी धेरै पछाडि फर्केर डिफेन्समा सहयोग गर्दैनथे। यसले टोलीको फुलब्याकलाई कठिनाइ हुन्थ्यो। तर ग्वार्डिओलालाई थाहा थियो, अन्ततः मेस्सी खेल सञ्चालन गर्ने केन्द्रमै पुग्नेछन्। त्यसपछि सम्पूर्ण टोली नै मेस्सीको नयाँ भूमिकालाई केन्द्रमा राखेर निर्माण गरियो।



