जापानी प्रधानमन्त्रीको लोकप्रियता दर ५० प्रतिशतभन्दा तल

हिमाल प्रेस ३२ असार २०८३ २१:०९ | Thursday, July 16, 2026
10
SHARES
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर ५० प्रतिशतभन्दा तल प्रधानमन्त्री ताकाइची।

काठमाडौँ- जापानी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारको लोकप्रियता पहिलोपटक ५० प्रतिशतभन्दा तल झरेको छ।

अक्टोबरमा सत्तामा आएयता बिहीबार प्रकाशित एक सर्वेक्षणले लोकप्रियता दर निकै घटेको देखाएको हो।

जीजी प्रेसको सर्वेक्षणअनुसार अहिले ताकाइचीको मन्त्रिपरिषद्प्रति समर्थन ४९ प्रतिशत मात्र देखिएको छ। उनको सरकारप्रतिको समर्थनमा सबैभन्दा ठूलो गिरावट ६० देखि ७० वर्ष उमेर समूहका मतदातामा देखिएको छ, जसको समर्थन गत महिनाको ६३.७ प्रतिशत रहेकोमा अहिले घटेर ३९.९ प्रतिशतमा झरेको छ।

समर्थकहरूले अझै पनि जापानकी पहिलो महिला प्रधानमन्त्रीको नेतृत्व र विश्वसनीयतालाई कारण मानिरहेका छन्। असन्तुष्टिका मुख्य कारणहरू अहिलेको संक्रमणकालीन अवस्थामा सरकारबाट ‘धेरै आशा गर्न सकिँदैन’ भन्ने र सरकारले ल्याएका ‘कमजोर नीति’ रहेका छन्।

फेब्रुअरीमा ताकाइचीले तल्लो सदनको आकस्मिक निर्वाचनमा ठूलो जित हासिल गर्दै आफ्नो सत्ताआधारलाई थप मजबुत बनाएका थिए। युवा मतदाताहरूमा उनको कूटनीतिक कौशल, सरल स्वभाव र परिवर्तनको प्रतीकका रूपमा लोकप्रियता बढेको थियो।

नोभेम्बरमा उनले आत्मनिर्णयमा रहेको ताइवानमाथि कुनै आक्रमण भए जापानले सैन्य हस्तक्षेप गर्न सक्ने धारणा सार्वजनिक गरेका थिए। यो धारणा जापानको चीनसँग सम्बन्धमा समस्या बनेको छ। चीनले ताइवानलाई आफ्नो भूभाग मान्छ।

यसै महिनाको सुरुतिर करिब १५० जापानी विद्वान् तथा प्राध्यापकहरूले राष्ट्रिय झण्डाको अपमानलाई अपराध मान्ने विधेयकलाई लिएर सांसदहरूविरूद्ध रिट दिएका थिए।

ताकाइचीको पक्षमा रहेको अर्को पक्ष के हो भने हालका महिनाहरूमा मुद्रास्फीतिमा सुधार आएको छ। यसअघि तीव्र मूल्यवृद्धिले उनका दुई पूर्ववर्ती प्रधानमन्त्रीको सरकारलाई छोटो समयमै बिदा हुनुपरेको थियो।-रासस/एएफपी

प्रकाशित: ३२ असार २०८३ २१:०९ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast