लहान बजार। फाइल तस्बिर।
काठमाडौँ- सिरहाको लहान नगरपालिकामा बिग्रँदै गएको सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू लागू गरिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दा आन्दोलन तथा हुलदंगाका कारण शान्तिसुरक्षा भंग हुने अवस्था देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो।
आदेशअनुसार लहान नगरपालिकाको पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रमा कर्फ्यु लागू भएको छ। यसैगरी पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ बाटिका होटल पश्चिमस्थित सरस्वती खोलासम्म तथा दक्षिणतर्फ पूर्वपश्चिम राजमार्गबाट ५०० मिटर वरपरको क्षेत्रमा कर्फ्यु लगाइएको पौडेलले जारी गरेको आदेशमा उल्लेख छ।


