जनकपुरधाम- धनुषा जिल्लाका विभिन्न क्षेत्रमा बढ्दो सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिए।
आदेशअनुसार कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा गर्न वा घेराउ गर्न पाउने छैनन्। आदेश उल्लंघन गर्ने जो -कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
कर्फ्यु लागू गरिएका क्षेत्रहरूमा जनकपुर उपमहानगरपालिकाका सबै क्षेत्र, लक्ष्मीनिया गाउँपालिका-७ को लक्ष्मीनिया हाटबजार चोकदेखि पश्चिम सिनुरजोडा चोक हुँदै पूर्वतर्फ लक्ष्मीपुर बगेवासम्म, बेलौनी रोडस्थित एमक्यु स्टिलबाट ५०० मिटर पूर्व पेट्रोलपम्प, हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा सिनुरजोडा -सोहनी -मनिमण्डप -नेपाल नर्सरी -इस्कोन जनकपुर -दुधमती पुल -बेला -कादरी मस्जिद आसपासका क्षेत्र छन्।
प्रशासनले जिल्लाको शान्तिसुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न कर्फ्यु आदेश जारी गरिएको जनाएको छ। सर्वसाधारणलाई अफवाहको पछि नलाग्न, प्रशासन र सुरक्षा निकायबाट जारी आधिकारिक सूचनामात्र विश्वास गर्न तथा कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
धनुषामा जारी कर्फ्युसँगै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको परिचालन थप कडा पारिएको प्रशासनले जनाएको छ।
यसैगरी सिरहा जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू रहने प्रशासनले जनाएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन्। प्रशासनका अनुसार आन्दोलन तथा हुलदंगाका कारण शान्तिसुरक्षा भंग हुन सक्ने अवस्था देखिएकाले उक्त निर्णय गरिएको हो।
जारी आदेशअनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गोलबजार नगरपालिका -३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजारको चोहर्वा चोकसम्म, उत्तरतर्फ गोलबजार -६ स्थित सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार -४ मा रहेको राष्ट्रिय प्रजातन्त्र राष्ट्रिय प्रजातन्त्र बहुमुखी क्याम्पस वरपरको क्षेत्रमा कर्फ्यु लागू हुनेछ।
आइतबार राति द्विपक्षीय झडपपछि प्रहरीको गोली लागेर सुनसरीको देवानगन्ज गाउँपालिका वडा नं. ४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सो घटनामा कम्तीमा २१ जना घाइते भएका थिए। पछिल्लो समय सुनसरीका १० वटा स्थानीय तहमा कर्फ्यु कायमै रहे पनि बुधबारदेखि देवानगन्जको अवस्था शान्त रहेको छ। यद्यपि त्यसको प्रभावका कारण हिंसा बढ्ने शंकामा सिरहा र धनुषा प्रशासनले पनि कर्फ्यु आदेश जारी गरेको हाे।


