१२ घण्टामा कहाँ कति मिलीमिटर वर्षा?

हिमाल प्रेस १ साउन २०८३ ५:३० | Friday, July 17, 2026
8
SHARES
१२ घण्टामा कहाँ कति मिलीमिटर वर्षा? फाइल तस्बिर

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार काठमाडौँलगायत विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ।

राति १०:०० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा १३६ मिलीमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा हो। काठमाडौँमै अपराह्न ५१ मिलीमिटर वर्षा हुँदा माइतीघरलगायतका क्षेत्र जलमग्न भएको थियो।

यस्तै नवलपरासीपूर्वमा ९४ मिलीमिटर, कास्कीमा ७६, रुकुमपूर्वमा ५६, लमजुङमा ७६ र चिवतनमा ५६ मिलीमिटर वर्षा भएको छ। अन्य धेरै जिल्लामा मध्यमदेखि भारीसम्म वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कार्यस्थले जानकारी दिएका छन्।

विभागले बिहीबार साँझ जारी गरेको बुलेटिनअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केहीमाथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ।

राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

त्यसैगरी, शुक्रबार देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचनामार्फत् सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती जलाधारमा ठूलो पानी परेको र राति थप पानी पर्ने सम्भावना भएकाले बाढीपहिरोको जोखिम रहेको जनाएको छ। आवश्यक सतर्कता अपनाउनसमेत प्राधिकरणले आग्रह गरेको छ।

प्रकाशित: १ साउन २०८३ ५:३० | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast