काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमको सन्दर्भमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई सक्रिय र समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
बुधवार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सरकार केवल बल प्रयोग र सामाजिक सञ्जालको ‘स्ट्याटस’मा मात्र सीमित हुन नहुने बताएका छन्। उनले प्रधानमन्त्री बालेन्द्र साहलाई भाउ खाने र ठालु भएर बस्न नहुने सुझाव दिए।
सभापति थापाले प्रधानमन्त्रीले अहंकार त्यागेर सबै पक्षलाई समेट्नुपर्नेमा जोड दिए। सरकारलाई अभिभावक र नेतृत्वकर्ताको संज्ञा दिँदै थापाले नेतृत्वको मुख्य शक्ति नै सहकार्य र विश्वासको वातावरण निर्माण गर्नु रहेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने, राष्ट्रपतिसँग परामर्श गर्ने तथा प्रदेश र स्थानीय सरकारहरूसँग निरन्तर संवाद गरी सरकारका प्रयासहरूबारे जानकारी गराउनुपर्ने सुझाव दिए।
मधेसमा हुने कुनैपनि घटनामा राज्यले ‘अतिरिक्त बल’ प्रयोग गर्ने मानसिकता राख्नु दुःखद् रहेको टिप्पणी गर्दै उनले यसलाई राज्य सञ्चालनको असफलताको निरन्तरताका रूपमा चित्रण गर्नुभयो । घटनाको छानबिनका लागि संसद्मा आवाज उठाउने बताउँदै थापाले यो समय सरकारलाई अप्ठ्यारो पार्ने नभई जिम्मेवारीपूर्वक सहयोग गर्ने समय भएको स्पष्ट पारे ।
सभापति थापाले नेपाली काँग्रेस सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न प्रतिवद्ध रहेको र यसका लागि अन्य राजनीतिक दलहरूसँग मिलेर भूमिका निर्वाह गर्ने बताए।


