काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको हस्तकला क्षत्रेको प्रवद्र्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन्।
बुधबार सिंहदरबारमा नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै नेपालको हस्तकला क्षेत्र मुलुककै पहिचानको क्षेत्रका भएकाले यस क्षेत्रको प्रवद्र्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका हुन्।
सातै प्रदेशमा हस्तकलाग्राम खडा गरेर रोजगारी सिर्जना गर्नका लागि महासंघ र सम्बन्धित निकायसँग सहकार्य गर्ने उनले बताएका थिए। साथै प्रधानमन्त्री शाहले देशको हस्तकलामार्फत देशको पहिचान र निर्यातमार्फत राजस्व बृद्धि गर्ने सरकारको लक्ष्य रहेको समेत धारणा राखेको छलफलमा सहभागी नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए।
आफूहरुले विगत १५ वर्षदेखि मनाइँदै आएको हस्तकला दिवसलाई राष्ट्रियकरण गर्न प्रस्ताव गरेकोमा सम्बन्धित निकायमार्फत निर्णय गर्ने प्रतिबद्धता समेत आएको अध्यक्ष शाक्यले बताए।
त्यस्तै हस्तकला क्षेत्रका समस्या, चुनौती र अवसरहरूको समष्टिगत रूपमा मूल्यांकन र निराकरण गर्न हस्तकला विकास बोर्ड खडा गर्ने प्रतिवद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेको उनले बताए।
त्यसैगरी विगत केही वर्षदेखि रोकिएर रहेको ‘सार्क हस्तकला विकास केन्द्र’ लाई यथाशीघ्र सम्बन्धित निकायहरूसँग समन्वय गरी सञ्चालनमा ल्याउने लगायतका विषयमा पनि छलफल भएको अध्यक्ष शाक्यले जानकारी दिए।
छलफलमा महासंघका अध्यक्ष शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा, निर्यातकर्तालगायतको सहभागिता रहेका थियो।

