राराब क्याम्पस पुगे शिक्षामन्त्री, शिक्षण गुणस्तर नबढे कारबाहीको चेतावनी

हिमाल प्रेस ११ साउन २०८३ १७:२० | Monday, July 27, 2026
18
SHARES
राराब क्याम्पस पुगे शिक्षामन्त्री, शिक्षण गुणस्तर नबढे कारबाहीको चेतावनी

जनकपुरधाम- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षालाई समयानुकूल, प्रतिस्पर्धी र विद्यार्थीमैत्री बनाउन शिक्षण प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्।

साेमबार जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) को निरीक्षण तथा प्राध्यापकहरूसँगको छलफलमा मन्त्री पोखरेलले संरचनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाइलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

उनले पुरानो क्याम्पस भएकाले केही चुनौती हुनु स्वाभाविक भए पनि समयअनुसार पठनपाठनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताए। मन्त्री पोखरेलले विशेष गरी परीक्षाका क्रममा हुने अमर्यादित गतिविधि नियन्त्रण गर्न क्याम्पस प्रशासनलाई निर्देशन दिँदै शैक्षिक अनुशासनमा कुनै सम्झौता नहुने बताए।

क्याम्पसको भौतिक पूर्वाधार सुधारका लागि आवश्यक विवरण तत्काल मन्त्रालयमा पेस गर्न आग्रह गर्दै उनले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।

बिलिङ प्रणालीलाई अनलाइनमार्फत सञ्चालन गर्न, सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन र पुस्तकालयमा देखिएका समस्या शीघ्र समाधान गर्न पनि निर्देशन दिए।

क्याम्पस प्रमुख प्रा.डा.वसन्तकुमार कर्णले क्याम्पसको वर्तमान अवस्था, भइरहेका सुधारका प्रयास तथा भावी योजनाबारे मन्त्रीलाई जानकारी गराएका थिए।

निरीक्षणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया पनि गरेका थिए। विद्यार्थीहरूले खानेपानी, शौचालय, सरसफाइ र पुस्तकालय व्यवस्थापनमा सुधार आवश्यक रहेको गुनासो राखेका थिए। त्यसको जवाफमा मन्त्रीले ती समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।

यसअघि मन्त्री पोखरेलले जनकपुरधाम उपमहानगरपालिका-४ स्थित संकट मोचन देवशरण रामरती माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न खेलकुद सामग्री वितरण गरेका थिए।

प्रकाशित: ११ साउन २०८३ १७:२० | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast