सुर्खेत – सुर्खेतस्थित एम भैरव देउता धार्मिक समाजले यस वर्ष बडीमालिका डोली यात्राको आयोजना गर्ने भएको छ।
समाजले शुक्रबार पत्रकार सम्मेलन गर्दै भदौ ५ गतेदेखि बडीमालिका डोली यात्रा सुरु हुने जानकारी दिएको हो।
समाजका अनुसार सुर्खेतको भैरवस्थान (देउखल) बाट जयन्ता मुण्डेश्वरी देवीको डोलीसहित शोभायात्रा प्रारम्भ हुनेछ। यात्रा दैलेखको ज्वाला पञ्चकोशी क्षेत्र हुँदै कालिकोटको खुलालु, जितेगाड, सानीगाड लगायतका स्थान पार गर्दै प्राचीन धार्मिक पदमार्गलाई पुनर्जीवित गर्ने उद्देश्यका साथ सञ्चालन गरिनेछ।
समाजले महान् पुण्यको यस धार्मिक यात्रामा सपरिवार सहभागी हुन इच्छुक श्रद्धालु भक्तजनलाई सहभागी भई धार्मिक आस्था, मनोकामना पूरा हुने विश्वास तथा जीवनकै महत्त्वपूर्ण आध्यात्मिक अनुभव प्राप्त गर्न आह्वान गरेको छ।
पत्रकार सम्मेलनमा वीरेन्द्रनगर नगरपालिकाका उपमेयर नीलकण्ठ खनालले पनि डोली यात्रामा सहभागी हुने प्रतिबद्धता जनाएका छन्। उनले यस यात्राले धार्मिक पर्यटन प्रवर्द्धनसँगै सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
समाजका अनुसार यो यात्राले बडीमालिका धार्मिक पर्यटनका लागि नयाँ मार्गको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
यात्रा तालिका
भदौ ५ गते – भैरवस्थान (देउखल) बाट प्रस्थान गरी राकम कर्णाली हुँदै रास्कोट नगरपालिका–८ स्थित बडीमालिका मन्दिरसम्म।
भदौ ६ गते – रास्कोट–८ स्थित बडीमालिका माताको ऐतिहासिक सरकारी पूजा सम्पन्न गरी मल्यागिरी पाटन (बज्रेश्वरी माता) सम्म।
भदौ ७ गते – मल्यागिरी पाटन (बज्रेश्वरी) देखि क्षेत्रडी धाम (पाटन) सम्म।
भदौ ८ गते – क्षेत्रडी धाम (पाटन) देखि कैलाशगाड (नाच्ने थैली) सम्म।
भदौ ९ गते – कैलाशगाडदेखि त्रिवेणी धाम (पाटन) सम्म।
भदौ १० गते – त्रिवेणी धामदेखि बडीमालिका मन्दिरसम्म।
भदौ ११ गते – बिहान ६ बजेदेखि १२ बजेसम्म बडीमालिका मन्दिरमा सरकारी पूजा सम्पन्न गरी त्रिवेणी धाम फर्किने।
भदौ १२ गते – जनैपूर्णिमा तथा रक्षाबन्धन त्रिवेणी धाममा भव्य रूपमा मनाई पुनः त्रिवेणी–रास्कोट हुँदै प्राचीन धार्मिक मार्गलाई पुनर्जीवित गर्दै यात्रा अघि बढाइने।



