फिफा विश्वकप

एमबाप्पेदेखि मेस्सीसम्म चुके ‘स्टटर’ पेनाल्टीमा, यस्तो शैली त्याग्ने समय आयो?

हिमाल प्रेस २६ असार २०८३ ९:४७ | Friday, July 10, 2026
14
SHARES
एमबाप्पेदेखि मेस्सीसम्म चुके ‘स्टटर’ पेनाल्टीमा, यस्तो शैली त्याग्ने समय आयो?

शुक्रबार बिहान फक्सबरोमा भएको खेल गोलरहित बराबरीमा रहेका बेला मोरक्कोका नुस्सैर माज्राउईले केलियन एमबाप्पेमाथि फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो।

एमबाप्पेले पेनाल्टी हान्नुअघि आफ्नो दौडमा ‘स्टटर’ (बीचमा छोटो रोकावट) शैली अपनाए, गोलकिपर यासिन बुनौतर्फ हेरे तर उनको कमजोर प्रहार बुनौले सहजै बचाए।

तर एमबाप्पेले त्यसको क्षतिपूर्ति गरे। खेलको ६०औँ मिनेटमा उनले शानदार कर्लिङ प्रहारमार्फत मोरक्कोको मजबुत रक्षापङ्क्ति तोडे भने त्यसको छ मिनेटपछि उस्मान डेम्बेलेले अर्को गोल गर्दै फ्रान्सलाई २-० को जित दिलाए।

यद्यपि प्रतियोगिताका संयुक्त सर्वाधिक गोलकर्तामध्ये एक एमबाप्पेको यो अस्वाभाविक गल्तीले एउटा प्रश्न उठाएको छ- अब खेलाडीहरूले ‘स्टटर’ शैलीमा पेनाल्टी हान्न छोड्ने समय आएको हो त?

आधुनिक फुटबलमा परम्परावादी समर्थकहरूले मन नपराउने विषयहरूको सूचीमा ‘स्टटर’ रन-अप पनि अग्रस्थानमै पर्छ। छोटो बाहुलाको जर्सीसँग पञ्जा लगाउने चलन, डाइभिङ र भिडियो सहायक रेफ्री (भिआर) जस्तै यो शैली पनि धेरैको आलोचनाको विषय बनेको छ।

फिफाका नियमअनुसार खेलाडीले पेनाल्टी हान्नुअघि दौडने क्रममा रोकिन वा झुक्याउने प्रयास गर्न पाउँछन्। तर बल प्रहार गर्नुअघि अन्तिम क्षणमा भने त्यसो गर्न पाइँदैन।

यो शैली नयाँ भने होइन। जोन एल्ड्रिज, मेक्सिकोका महान् खेलाडी हुगो सान्चेज र पेलेले पनि गोलकिपरलाई झुक्याउन यही तरिका अपनाएका थिए। तर यदि गोलकिपरले चाँडै डाइभ नगरेमा यही रणनीति उल्टै खेलाडीमाथि भारी पर्न सक्छ।

यस विश्वकपमा रन-अपमा ‘स्टटर’ अपनाएर पेनाल्टी चुकाउने खेलाडीहरूको सूचीमा एमबाप्पेसँगै ब्रुनो गुइमाराएस, योर्गेन स्ट्रान्ड लार्सेन, लियोनेल मेस्सी र ह्यारी केन पनि छन्। (केनले क्रोएसियाविरुद्ध पहिलो प्रयास दोहोर्याउने मौका पाएपछि दोस्रो प्रयासमा ‘स्टटर’ नगरी गोल गरेका थिए।)

विश्वकपमा पेनाल्टी सुटआउटसहित ‘स्टटर’ शैलीमा हानिएका २६ पेनाल्टीमध्ये ११ गोलमा परिणत हुन सकेनन् अर्थात् सफलता दर केवल ५७ प्रतिशत रह्यो।

आईटीभीसँग कुरा गर्दै पूर्व इंग्ल्यान्ड फरवार्ड इयान राइटले भने,‘यो ‘स्टटर’ पेनाल्टी अहिले गोलकिपरहरूले बुझिसकेका जस्ता देखिन्छन्। उनीहरूले अब यसमाथि नियन्त्रण जमाउन थालेका छन्।’  यद्यपि मार्को अर्नाउटोभिच, राउल हिमेनेज, नेयमार, एमबाप्पे, क्रिस्टियानो रोनाल्डो, योआने विस्सा र काइ हाभेर्ट्सले यही शैली अपनाएर सफलता पनि पाएका छन्।

अर्कोतर्फ, ‘स्टटर’ नगरी हानिएका ३५ पेनाल्टीमध्ये २४ गोल भएका छन्, जसको सफलता दर ६८ प्रतिशत छ। समग्रमा हेर्दा १२ यार्डबाट गोल गर्ने हिसाबले यो विश्वकप खेलाडीहरूका लागि राम्रो रहेन।

सुटआउटबाहेकका ३० प्रतिशत पेनाल्टी यस विश्वकपमा गोल हुन सकेनन्। सन् १९६६ देखि तथ्यांक राख्न थालिएयता यो दोस्रो सबैभन्दा खराब रेकर्ड हो। यदि पेनाल्टी सुटआउटका प्रहार पनि जोड्ने हो भने असफलताको दर ३५ प्रतिशत पुग्छ जुन १९६६ यताकै सबैभन्दा खराब हो।

बीबीसी रेडियोसँग कुरा गर्दै स्कटल्यान्डका पूर्व विङ्गर प्याट नेभिनले भने,‘अहिले पेनाल्टीमा गोल गर्न पहिलेभन्दा धेरै कठिन भएको छ। यो एउटा हतियारको प्रतिस्पर्धाजस्तै बनेको छ। गोलकिपरहरू अहिले अग्ला, फूर्तिला र शारीरिक रूपमा निकै सक्षम छन्।’

उनले थपे,‘यदि गोलकिपर सही दिशामा हाम फाल्छ भने बललाई तीव्र गतिमा पोस्टको छेउतिर पठाउनैपर्छ। त्यसो गर्दा पनि बच्ने सम्भावना रहन्छ। अहिले उत्कृष्ट पेनाल्टी पनि गोल हुने निश्चित छैन। त्यसैले खेलाडीहरूले नयाँ उपाय खोज्नुपरेको छ। ‘स्टटर’को उद्देश्य नै गोलकिपरलाई गलत दिशामा पठाउने हो। तर अहिले गोलकिपरसँग तथ्यांक हुन्छ। कसले कस्तो पेनाल्टी हान्छ भन्ने उनीहरूलाई थाहा हुन्छ। आफ्नो मनपर्ने शैली लुकाउन सकिँदैन। त्यसैले दुवै पक्षबीच निरन्तर रणनीतिक प्रतिस्पर्धा चलिरहेको हुन्छ।’

नेभिनका अनुसार एमबाप्पेको सबैभन्दा ठूलो बलियो पक्ष उनको तयारी हो। ‘उनको आफ्नै निश्चित प्रक्रिया हुन्छ। आज उनले बल राख्ने तयारी दुई पटक दोहोर्याए तर अन्ततः तेस्रो पटक त्यसो गर्नुपर्‍यो र त्यही प्रयासमा उनी चुके,’ उनले भने।

फ्रान्सका लागि एमबाप्पेको यो केवल दोस्रो पेनाल्टी असफलता थियो। उनले १६ मध्ये १४ पेनाल्टी गोलमा परिणत गरेका छन्। क्लब फुटबलमा भने उनको सफलता दर केही कम छ। उनले ६२ प्रयासमध्ये ५० पेनाल्टी गोल गरेका छन्। तर यसपटक उनी यासिन बुनौजस्ता उत्कृष्ट पेनाल्टी विशेषज्ञ गोलकिपरसँग भिडिरहेका थिए। विश्वकपमा सुटआउटसहित उनले सामना गरेका ९ पेनाल्टीमध्ये केवल दुईमा मात्र गोल भएको छ। उनले चार पेनाल्टी बचाएका छन् भने तीन प्रहार गोलपोस्ट बाहिर गएका थिए।

एमबाप्पेलाई पेनाल्टी हान्नुअघि लामो समय कुर्नुपरेको पनि उनको विपक्षमा गएको मानिएको छ। भिआर जाँचका कारण पेनाल्टी दिइएको क्षणदेखि प्रहार गर्नसम्म ३ मिनेट १२ सेकेन्ड बितेको थियो। बीबीसी रेडियोसँग कुरा गर्दै फ्रान्सेली फुटबल पत्रकार जुलियन लरेन्सले भने,‘एमबाप्पेले आफ्नो नियमित तयारीको लय गुमाए। त्यो वास्तवमै निकै खराब पेनाल्टी थियो।’

उनले थपे,‘प्रहार कमजोर थियो र बुनौका लागि सजिलो बचाउ बन्यो। बुनौ पेनाल्टी रोक्न विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक हुन्। फुटबलमा निश्चित तयारी र लय निकै महत्वपूर्ण हुन्छ। त्यस लामो प्रतीक्षाले एमबाप्पेको ध्यान विचलित गर्‍यो। अनुमति पाएपछि भने उनले निकै हतारमा प्रहार गरे।’

आईटीभीसँग कुरा गर्दै आयरल्यान्डका पूर्व मिडफिल्डर रोय किनले भने,‘पेनाल्टी हान्न तीन मिनेटभन्दा बढी कुर्नुपर्नु खेलाडीका लागि न्यायोचित होइन। उनीहरू विश्वस्तरीय खेलाडी भए पनि त्यो अत्यधिक दबाबको अवस्था हो। किन तीन मिनेट कुर्नुपर्ने?’

उनले थपे,‘स्ट्राइकरका लागि समय नै सबैभन्दा ठूलो शत्रु हो। जति ढिलो हुन्छ, त्यति नै फाइदा गोलकिपर र पेनाल्टी व्यहोर्ने टोलीतर्फ जान थाल्छ।’

इयान राइटको भनाइ पनि त्यही थियो। ‘पेनाल्टी हान्न जति धेरै कुर्नुपर्छ, त्यति नै आफ्नो निर्णयप्रति शंका बढ्दै जान्छ।’

प्रकाशित: २६ असार २०८३ ९:४७ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast